आणविक आक्रमण हुँदा अमेरिकी राष्ट्रपति लुक्ने बंकर यस्तो छ

310

एजेन्सी । विश्वका शक्तिशाली मुलुकहरु आणविक हतियार सम्पन्न छन् । कुनै पनि बेला आणविक युद्ध नहोला भन्न सकिँदैन । यस्तो अवस्थामा विकसित देशले आफ्ना राष्ट्र प्रमुखहरुलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा विभिन्न योजना बनाइसकेका छन् ।

त्यसमध्ये अमेरिकाले पनि परमाणु युद्ध भएमा आफ्ना राष्ट्रपति लगायत नेताहरुलाई कसरी सुरक्षित राख्ने भन्नेबारे विभिन्न विकल्पहरु तयार पारिसकेको छ । अमेरिकाले राष्ट्रपति लगायत नेताहरुलाई सुरक्षित राख्न एक अत्याधुनिक बंकर बनाएको छ ।

शक्तिशाली परमाणु बमले समेत कुनै असर नगर्ने त्यो बंकरमा बसेर राष्ट्रपति, सेनाका उच्च अधिकारी लगायतले युद्धको रणनीति तयार पार्ने र निगरानी गर्न सक्ने छन् । अत्याधुनिक सुविधासम्पन्न त्यो बंकर निकै गोप्य राखिएको छ ।

कोलाराडोस्थित माउन्टेन कम्प्लेक्समा एउटा बंकर सन् १९४८ मै तयार पारिएको छ । यो ५० मिटर तल निर्माण गरिएको छ । त्यो बंकर एक किलोमिटरको दायरामा फैलिएको छ ।

त्यहाँ परमाणु हतियारदेखि लिएर सेनाको आधुनिक हतियार छ । हाइटेक सुविधा भएको उक्त बंकरमा स्वास्थ्योपचारको सुविधा पनि छ । त्यो बंकरभित्र करिब एक हजार चार सय मानिस कयौं महिनासम्म आरामले बस्ने सक्ने गरी बनाइएको छ ।

अहिले सो बंकरलाई आधुनिकीकरण गर्दै आवश्यक परेको खण्डमा देशका राष्ट्रपति, नेताहरु र सेनाका उच्च अधिकारीहरुलाई राख्न सक्ने गरी बनाइएको छ । हाल यसको क्षमता ५ हजार मानिस राख्न सक्ने बताइन्छ ।

यस्तै बंकर भर्जिनियाको पहाडी क्षेत्रमा पनि बनाइएको छ । त्यो बंकरमा पनि राष्ट्रपति, मन्त्रीहरु, सेनाका उच्च अधिकारीहरु राख्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

त्यसो त अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ परिसर मै पनि आधुनिक बंकर बनाइएको छ । तत्कालिन राष्ट्रपति फ्रेंकलिन रुजवेल्टले दोस्रो विश्वयुद्धका क्रममा ह्वाइट हाउसमा बंकर बनाउन लगाएका थिए ।