भक्तपुर : लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र महानगरीय प्रहरी परिसर भक्तपुरले साढे १३ किलो गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटस्थित पीपलबोटबाट स्थानीय ३९ वर्षीया पुर्णीमाया तामाङलाई नियन्त्रणमा लिएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले आफ्नै घरमा लागूऔषध गाँजा सञ्चित गरी बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीले उनको घरकोठा खानतलासी गर्दा १३ किलो पाँचसय ग्राम गाँजासमेत बरामद भएको उनले बताए।
बिहीबार साँझ नियन्त्रणमा लिइएका तामाङलाई जिल्ला अदालत भक्तपुरमा उपस्थित गराई थप अनुसन्धानको लागि १५ दिन म्याद थप गरिएको छ।
उनीमाथि थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ।