काठमाडौं। केही महिनाअघिसम्म युनाइटेड अरब इमिरेट्स (युएई) सँग व्यापारघाटा व्यर्होदै आएको नेपालबाट पछिल्लो दुई महिना भने उच्च अंकका साथ निर्यात गरी वैदेशिक व्यापारमा अनौठो परिस्थिति सिर्जना भएको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनासम्म युएईसँग माइनस ५२ दशमलव २ प्रतिशत व्यापारघाटा रहेको थियो । तर, असोज–कार्तिकसम्म आइपुग्दा निर्यात १२६३ दशमलव ३ प्रतिशतले वृद्धि भई युएईसँगको वैदेशिक व्यापार नाफामा पुगेको छ ।
युएईसँगको व्यापारलाई नाफामा लैजानका निम्ति नेपालको हस्तकला वा अन्य नेपाली उत्पादनले सहयोग पुर्याको नभई विदेशमा उत्पादन भएको मोबाइल निर्यात भएर हो ।
अझ रोचक त के भने नेपाल आफैंले आयात गर्ने मोबाइल युएई निर्यात गर्नु रहेको छ । चालू आर्थिक वर्षको असोज– कार्तिकमा नेपालबाट युएई ४६ करोड ३२ लाख ९७ हजार रुपैयाँ बराबरको मोबाइल र मोबाइलसँग सम्बन्धित उपकरण निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ६० हजार ८ सय ५० को थान मोबाइलजन्य सामग्री ४६ करोड ३२ लाख ९७ हजार रुपैयाँबराबरमा निर्यात गरिएको तथ्यांक छ ।
नेपालमा आयात भइरहेको सामग्री यति ठूलो परिमाणमा युएई निर्यात हुनुले अचम्मित बनाएको छ । चालू आर्थिक वर्ष साउन र भदौ महिना युएईका लागि नेपालबाट कुनै पनि सामग्री निर्यात गरिएको छैन । तर, त्यसपछि एक्कासरी १० औं करोडको मोबाइल निर्यात हुनुलाई अनौठो मानिएको छ ।
‘नेपालमा उत्पादन नै नहुने सामग्री कसरी एक्कासी ठूलो परिमाणमा निकासी हुनु पुग्यो ? यो विषय अनौठोमात्रै होइन यसले विभिन्न आंशंका पनि उब्जाएको छ ।’ भन्सार स्रोतले बतायो ।
‘यो तथ्यांक गलत हो कि भन्ने बारेमा पनि हामी अनुसन्धान गदैर्छौं, साथसाथै मोबाइलकोे एक्कासी निर्यात बढ्नुलाई हामीले फरक कोणबाट पनि हेरेका छौं,’ स्रोतले भन्यो । ४६ करोड रुपैयाँभन्दा बढीको मोबाइल निर्यात भएको तथ्यांक सार्वजनिक भए पनि यति धेरै मोबाइल कुन ब्रान्डको र कस्ले निर्यात गर्यो भन्ने तथ्य खुल्न सकेको छैन ।आर्थिकन्युज