काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटस्थित नवदुर्गा आधारभूत विद्यालयका एक शिक्षकको मासिक तलब मात्र रु. एक हजार रहेको छ ।
विद्यालयको निजी स्रोतबाट तलब खाने गरी काम गरिरहेका उनको तलब मात्र त्यति रहेको छ ।
विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षक युगमाया शाहीले निक्कै थोरै तलबमा विद्यालयमा पढाउँदै आएकी छन् । कञ्चनपुरको सुकुम्बासी दलित बस्तीमा रहेको सो विद्यालयमा अधिकांश अभिभावकको आर्थिक अवस्था दयनीय भई आन्तरिक स्रोत नभएपछि न्यून तलबमा शिक्षक राखिएको विद्यालयले जनाएको छ । ‘विद्यालयको आन्तरिक स्रोत थोरै भएकाले थोरै तलबमा चित्त बुझाउनुपरेको छ’, शिक्षक शाहीले भनिन् ।
न्यून आयस्रोतका कारण कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा दुईजना अस्थायी दरबन्दीमा, एकजना राहतमा र एकजना निजी गरी चारजना शिक्षक छन् । भारतमा मजदुरी गर्दै आएका बस्तीका बासिन्दाले केही रकम बचाइ चन्दा संकलन गरी विद्यालय सञ्चालन हुँदै आएको बताउँदै विद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्यालले विद्यालय सञ्चालन रहेको १० कट्ठा जग्गासमेत राष्ट्रिय आवास कम्पनीको नाममा दर्तामा रहँदा थप समसया भएको बताइन् ।
नेपाल–भारत सीमादेखि करिब २०० मिटरभित्र रहेको सो विद्यालय गाउँलेहरुको आफ्नै पहलमा विसं २०५५ मा काठ र खरको टहरो निर्माण गरी सञ्चालन गरिएको र विसं २०६३ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले मान्यता दिएको थियो । एक दशकअघि स्वीकृति पाएको नवदुर्गा विद्यालयले दुईजना अस्थायी दरबन्दी र एकजनाको राहत कोटाबाहेक कुनै सुविधा प्राप्त गर्न सकेको छैन ।