नेताहरु उपचारको लागि विदेश नै किन ?

320

बलराम प्यासी
काठमाडौं । ललितपुरको भैसेपाटीस्थित अत्याधुनिक उपचार सुविधा सहितको नेपाल मेडिसिटी अस्पतालको निरीक्षण भ्रमणका क्रममा गत २४ मंसीरमा पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो अस्पतालको उपचार सुविधाको प्रशंसा गर्दै पछिल्लो समयमा नेपाल मेडिकल हवको रुपमा विकास हुँदै गएकोमा सन्तोष व्यक्त गरेका थिए ।
तर तिनै ओली नेपालमा रहेका अत्याधुनिक र सुविधासम्पन्न अस्पतालहरुको सेवाप्रति विश्वस्त हुन नसकेर उपचारको लागि पटकपटक विदेशिइराखेका छन् । अध्यक्ष ओली उपचारको सिलसिलामा २६ पुसमा थाइल्याण्ड जाँदैछन । यसअघि पनि उनी त्यहाँ गएका थिए ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको स्तरीय सेवा उपलव्ध हुँदाहुँदै सन् २००७ को नोभेम्वर महिनामा भारतको नयाँदिल्लीस्थित एपोलो इन्टरनेशनल अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरेका अध्यक्ष ओली त्यसको फलोअपको लागि हरेक ६।६ महिनामा एपोलो अस्पताल गईराख्थे । त्यतिखेर उनलाई एपोलो अस्पतालका वरिष्ठ नेफ्रोलोजिष्ट तथा युरोलोजेािष्ट प्रा.डा.डिके अग्रवालको नेतृत्वको टोलीले मिर्गाैला प्रत्यारोपण गरेको थियो । तर उनी प्रधानमन्त्री भइसकेपछि भने त्यही मिर्गाैलाको फलोअप उपचारको लागि उनी एपोलो अस्पतालको सट्टा पटकपटक थाइल्याण्ड जान थालेका छन् ।
त्रिविवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख एवम् मिर्गाैला प्रत्यारोपणपछि अध्यक्ष ओलीको निरन्तर स्वास्थ्य रेखदेख गर्दै आएकी प्रत्यारोपण विशेषज्ञ डा.दिव्यासिंह शाहको सुझाव बमोजिम ओली २६ पुसमा थाइल्याण्ड जान लागेको बताइन्छ ।
‘प्रधानमन्त्री भईसकेपछि पछिल्लो समयमा सुरक्षा चुनौतिले गर्दा उनी भारतको अस्पतालमा फलोअप उपचारको लागि नगएका हुनसक्छ’ एकजना वरिष्ठ चिकित्सकले नाम नबताउने शर्तमा भने । नेपालमा भारतले गरेको नाकावन्दीका कारण त्यसको खुलेर विरोध गरेका कारण पनि अध्यक्ष ओलीमाथि भारतमा सुरक्षा चुनौति बढेको ति चिकित्सकको आशंका छ ।
सर्वसाधारणले समयमै गुणस्तरीय र सुलभ उपचार सेवा पाउन नसकेको आरोप खेपेका त्रिविवि शिक्षण अस्पताल, सहीद गंगालाल अस्पताल, सहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, वीर अस्पताल लगायतका सरकारी स्वामित्वका अस्पतालहरुमा पछिल्लो समयमा भिआइपिहरुले भने गुणस्तरीय उपचार सेवा पाइराखेका छन ।
गुणस्तरीय सेवा पाएकै कारण वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, पुर्व राष्ट्रपति डा.रामवरण यादवदेखि वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासांग, निवर्तमान स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल लगायत आफ्नो उपचारको लागि ती अस्पतालमा जान थालेका हुन ।
त्यसो त पछिल्लो १० वर्षको अवधिमा राजधानीमा मुटु लगायत विभिन्न रोगको उपचारको लागि नीजि क्षेत्रबाट नर्भिक इन्टरनेशनल अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, बाँसबारीस्थित न्युरो अस्पताल, नेपाल मेडिसिटी अस्पताल,नेपाल क्यान्सर अस्पताल, वयोधा, बिएण्डबि अस्पतालका साथै अल्का, सुमेरु, अन्नपूर्ण अस्पतालले पनि महंगो तर स्तरीय स्वास्थ्य सेवा दिँदै आएका छन् ।
सरकारी स्वामित्वका अस्पतालको उपचारमा विश्वास नलाग्नेहरु यीनै नीजि अस्पतालहरुमा उपचार गराउन गइरहेको पछिल्लो उदाहरण पुर्व राजा ज्ञानेन्द्र तथा राजपरिवारका अन्य सदस्यदेखि पुर्वप्रधानमन्त्री (हाल स्वर्गीय) सुर्यबहादुर थापादेखि झलनाथ खनालसम्म छन ।
तर पछिल्लो समयमा नेपालका सरकारीमात्रै हैन स्तरीय र सुविधासम्पन्न नीजि अस्पतालको उपचारप्रति विश्वास नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काग्रेसका नेता शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओली लगायत धेरै नेताहरु उपचारको लागि नेपालबाट करोडौं रुपैया लगेर भारत, थाइल्याण्ड र अमेरिका लगायत तेस्रो मुलुकमा गइराखेका छन् ।
जसका कारण नेपालमा अहोरात्र काम गरिराखेका चिकित्सक र स्वास्थ्य क्षेत्रका अरबौं रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरु पनि चिन्तित देखिन थालेका छन् । उपचारको नाउँमा नेपालमा रहेका स्वास्थ्यसंस्था र चिकित्सकप्रति नेताहरुले विश्वास नगरी करोडौं रुपैया विदेशि अस्पतालमा खन्याउनु दुःखद भएको नीजि अस्पतालका लगानीकर्ता गुनासो गर्छन । यसविषयमा ती तिनै राजनैतिक दलले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन ।