अब राजीनामा दिन्छौं : बिनाविभागीय मन्त्री

263

काठमाडौं । शेरबहादुर देउवा नेतृत्व सरकारमा रहेका माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरु राजीनामा दिने निष्कर्षमा पुगेका छन् । उनीहरुले शुक्रबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर राजीनामा दिने तयारी गरेको बताएका छन् ।

माओवादी केन्द्रबाट सरकारमा रहेका सबै बिनाविभागिय मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी भएको मन्त्री गिरीराजमणी पोखरेलले बाह्रखरीलाई जानकारी दिए ।

“पार्टीले निर्णय गरिसक्यो, शुक्रबारसम्म हामीहरुले राजीनामा दिन्छौं,” उनले भने, “बिहीबार नै दिने तयारी थियो तर विदा भएका कारण दिन सकिएन ।”

उनले सरकारलाई निर्वाचनमा सहयोग गराउन आफूहरु सरकारमा बसिरहेको पनि बताए । “सरकारले विनाविभागीय बनाए पनि निर्वाचनमा सहयोग गराउन सरकारमा बसेका थियौं । अहिले निर्वाचन सकिएर मतपरिणाम पनि आइसक्यो । नयाँ सरकार बन्दैछ । त्यसकारण हामीले राजीनामा दिन लागेका हौं,’’ उनले भने ।

माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको लागि वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेका माओवादी केन्द्रका ८ मन्त्री र ८ राज्यमन्त्रीलाई बिनाविभागीय बनाएका थिए ।