काठमाडौं. वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ ।
यद्यपि कुन प्रदेशमा एमाले र माओवादीका कति मतदाता छन् भन्ने पनि हेरिने कार्यदलका एक सदस्यले बताए ।
‘कुनै प्रदेशमा माओवादीको संख्या निकै कम छ, त्यहाँ उसले ४० प्रतिशत माग्दैन, कुनैमा माओवादीको संख्या निणर्ायक हुनेछ, त्यहाँ सोही अनुपातमा बाँडफाँट हुन्छ’ उनले भने ।
मुख्यमन्त्री यसरी बाँडिदैछ
यो कार्यदलले नै भावी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखसहित प्रदेश संरचनाबारे पार्टी एकता संयोजन समितिलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।
७ मध्ये ६ वटा प्रदेशमा वामपन्थीको बहुमत छ ।
मुख्यमन्त्री, सभामुख बाँडफाँटमा पनि चारवटा आधारलाई मुख्य मानिने एमाले नेता नेम्वाङले बताए । ‘एउटै पार्टी भएपछि कसले कति पाउने भन्ने रहेन, कुन प्रदेशमा मुख्यमन्त्री र सभामुख बन्न कस्तो व्यक्ति उपयुक्त छ,व्यक्ति हेरेर पनि बाँडफाँड हुन्छ’ उनले भने, ‘यसले यति पाउने भन्ने मात्र आधार छैन ।’
स्रोतका अनुसार ६ वटा प्रदेशका मुख्यमन्त्रीमध्ये चारवटा एमालेले र दुईवटा माओवादीले पाउने सम्भावना छ । प्रदेशका सभामुखको बाँडफाँट पनि सोही अनुसार हुनेछ ।
मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई पनि ध्यान दिइनेछ ।
प्रदेश १ः चार नेता दाबेदार
एकलौटी बहुमत रहेको प्रदेश १ मा एमालेका चार नेता मुख्यमन्त्रीको दौडमा छन् । सुनसरीबाट विजयी सचिव भीम आचार्य, भोजपुरबाट विजयी पोलिटब्युरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य राजेन्द्र राई मुख्यमन्त्रीको दाबेदार देखिएका छन् । त्यस्तै, झापाबाट निर्वाचित केन्द्रीय सदस्य हिक्मत कार्कीले पनि आपूmलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा उभ्याएका छन् । आचार्य र राजेन्द्र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल निकट हुन् भने शेरधन र कार्की केपी ओलीनिकट छन् ।
प्रदेश २ : आधा दर्जनको दौड
प्रदेश २ मा कुनै पनि दलको एकल बहुमत छैन् । संघीय समाजवादी फोरम, राजपा र एमाले नेताहरू मुख्यमन्त्रीको दौडमा छन् । १०७ सिटमा मधेसकेन्द्रित दुई दल मिलेको अवस्थामा प्रत्यक्ष र समानुपातिकसहित ५४ सिट पुग्दा बहुमत पुग्नेछ । तर, मुख्यमन्त्रीमा राजपासँग कुरा नमिले २९ सिट जितेर प्रदेशमा ठूलो दल बनेको फोरम अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनसँग पनि समानान्तर छलफल गरिरहेको स्रोत बताउँछ । प्रदेश २ मा राजपाले २५, एमालेले २१ र कांग्रेसले १९ सिट जितेका छन् । अहिलेसम्म फोरमबाट पर्साबाट विजयी लालबहादुर राउत, सिरहाका विजय यादव तथा सप्तरीबाट विजयी राजपा महामन्त्री मनीषकुमार सुमन तथा बाराबाट विजयी नेता जितेन्द्र सोनल दाबेदार छन् । एमालेबाट सप्तरीबाट विजयी प्रदेश संयोजक सत्यनारायण मण्डल पनि दाबेदार छन् ।
प्रदेश ३ : ‘हेभिवेट नेता’ धेरै दाबेदार
११० सिटमा ६८ सिट जितेका कारण एकलौटी सरकार गठन गर्ने स्थितिमा रहेको एमालेबाट धेरै ‘हेभिवेट’ नेता मुख्यमन्त्रीको दौडमा छन् । काठमाडौंबाट विजयी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, दोलखाबाट विजयी पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, धादिङबाट विजयी राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् । त्यस्तै, पोलिटब्युरो सदस्य अरुण नेपाल, सानुकुमार श्रेष्ठ, काठमाडौंका पूर्वमेयर केशव स्थापितले पनि दाबी गरेका छन् । पार्टी उपाध्यक्ष र महिला नेतृ भएकाले लैंगिक सन्तुलन मिलाउन शाक्यलाई बनाउनुपर्ने दबाबमा एमाले नेतृत्व छ । चौलागाईं र पाण्डेले पनि लबिङ तीव्र पारेका छन् ।
प्रदेश ४ : दुई गुरुङबीच प्रतिस्पर्धा
प्रदेश ४ का ६० मध्ये वाम गठबन्धन ३९ सिट जितेर बहुमतमा छ । लमजुङबाट विजयी एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र तनहुँबाट विजयी स्थायी समिति सदस्य किरण गुरुङ मुख्यमन्त्रीको दौडमा छन् । सचिव गुरुङ नेताहरूसँगको भेटघाटमा छन् भने स्थायी समिति सदस्य गुरुङ जिल्लामै छन् । माओवादीले यो प्रदेशमा दाबी प्रस्तुत गरेको छैन ।
प्रदेश ५ : पोखरेलको नाम सर्वसम्मत
वाम गठबन्धनका तर्फबाट एमाले स्थायी समिति सदस्य शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीको सर्वसम्मत उम्मेदवार छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चुनावअगावै पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएकाले उनको नाममा अहिलेसम्म कसैको विमति छैन । एमालेबाट वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ चौधरी दाबेदार मानिए पनि उनलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर व्यवस्थापन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
प्रदेश ६ : भण्डारी र शाहीको दाबी
प्रदेश ६ मा माओवादीले मुख्यमन्त्रीका लागि सशक्त दाबी गरेको छ । पोलिटब्युरो सदस्यद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाहीले दाबी प्रस्तुत गरेका हुन् । भण्डारी जुम्ला र शाही कालिकोटबाट विजयी सांसद हुन् । सल्यानबाट विजयी एमाले नेता प्रकाश ज्वाला र सुर्खेतबाट विजयी यामलाल कँडेल पनि मुख्यमन्त्रीको चर्चामा छन् ।
प्रदेश ७ : दुवै दलका नेता दौडमा
प्रदेश ७ मा माओवादीका दुई नेताले दाबी गरेका छन् । कैलालीका वीरमान चौधरी र अछामका झपट बोहरा दौडमा छन् । चौधरी पोलिटब्युरो सदस्य हुन् । एमालेबाट वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, कैलाली अध्यक्ष दीर्घ सोडारी र कञ्चनपुर अध्यक्ष तारा लामा पनि दौडमा छन् ।







































