भक्तपुर, बोलाछेंका युवा परम्परागत धिमे बाजा (नेवार समुदायको प्रचलित बाजा) सिक्न थालेका छन् । उनीहरू प्रत्येक दिन तीन घन्टा बाजा सिक्छन्।
कुचुछें दाफा भजन तँंचा बोलाछें, भक्तपुरको आयोजनामा तीन महिने धिमे बाजा प्रशिक्षण सुरु भएको हो। प्रशिक्षणमा ८ देखि २२ वर्षसम्मका १६ जना छन् । आयोजकका अनुसार साँझ ६ बजेदेखि राति ९ बजेसम्म प्रशिक्षण हुने गरेको छ।
बाजाको संरक्षण गर्न प्रशिक्षण आयोजना गरिएको संस्थाले जनाएको छ । जात्रा तथा पर्वहरूका लागि कलाकार तयार पार्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । प्रशिक्षणमा स्थानीय १६ जना सहभागी छन्।
आयोजक संस्थाका नाय (अध्यक्ष) कृष्णभक्त सुवालले परम्परा र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न बाजा प्रशिक्षण दिएको सुनाए । उनका अनुसार बाजा सिक्न चाहने सबैलाई निःशुल्क सहभागी गराइएको छ।
तीन जना प्रशिक्षकबाट प्रशिक्षण दिँदै आएको मुख्य प्रशिक्षक पुष्पलाल सुजखूले जानकारी दिए । उनका अनुसार विष्णुभक्त त्वायना र सूर्यभक्त सुवालले प्रशिक्षण दिँदैछन्।
‘एकजना धिमेका सवै बिधामा पोख्त नभएकोले तीन जना प्रशिक्षक राखेका हौं,’ उनले नागरिकसँग सुनाए, ‘तीनजना राखेपछि धिमेका सबै विधामा सिकारुलाई पोख्त पार्न सकिने हाम्रो विश्वास छ।’
प्रशिक्षणपछि प्रशिक्षार्थीहरू धिमे बजाउन पोख्त हुने उनले बताए । यसले संस्कृतिको जगेर्नामा सघाउ पुग्ने उनको विश्वास छ ।
प्रशिक्षार्थी बन्ती सुजखूले परम्परा जोगाउन धिमे सिक्न आएको बताइन् । प्रशिक्षण सकेर नयाँ वर्ष, दसैं, तिहार, गाइजात्रालगायत पर्वमा धिमे बजाउने उनको चाहना छ।
स्थानीय तारा ल्याम्ह पुच (युवा समूह)का अध्यक्ष एवं उपप्राध्यापक हरिसुन्दर सुवालले पुरानो पुस्ताको ज्ञान, सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेकाले बाजा प्रशिक्षण दिएको सुनाए । यसले परम्परा जोगिने उनको भनाइ छ।
आयोजकले समयसमयमा भजन, गीत, लाला खिं (ढोलक), धाँ बाजाको प्रशिक्षण दिँदै आएको जनाएको छ।







































