संखुवासभामा खाने पानीको हाहाकार : ४२ कराेडकाे अायाेजना प्रयाेगबिहीन

688

संखुवासभा । ४२ करोड खर्चेर खाँदबारी नगरपालिकाका लागि बृहत खानेपानी आयोजना सञ्चालन भएपनि उपभोक्ता भने खोलाको धमिलो पानी पिउन बाध्य छन् । खाँदबारी साना शहरी खानेपानी उपभोक्ता समिति मार्फत ४२ करोड खर्च भइसक्दा पनि उपभोक्ताले पानी पाएका छैनन् ।

संखुवासभा सदरमुकाम खाँदबारीका उपभोक्ता, जिल्ला कारागारका कैदीबन्दी र अस्पतालमा पानी अभाव भएपछि सभाखोलाबाट १ रुपैया २५ पैसा प्रतिलिटर धमिलो पानी किनेर काम चलाउँदै आएका छन् । पानी अभाव हँुदा अस्पतालको सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

चिचिला भ्याङ्खोला सडक खण्ड निर्माणका क्रममा पानीको पाईप भत्केपछि २ साता देखि खाँदबारीमा पानीको हाहाकार भएको हो । मकालु गाउँपालिकाको मांसिमा  रहेको सिमाली खोलाबाट दैनिक २३ लाख लिटर खानेपानी आउँछ । तर, संखुवासभा सदरमुकाम खाँदबारीमा भने खानेपानीको चरम अभाव छ ।

सिमाली खोलाबाट ३५ किलोमिटर तल रहेको चिचिला गाउँपालिकाको कुवापानीमा बनेको ट्रिटमेण्ट प्लाण्टसम्म प्रतिसेकेण्ड २७ लिटरका दरले पानी झर्छ । २४ घण्टामा प्रतिघण्टा ९७ हजार २ सय लिटर पानी जम्मा हुन्छ । २४ घण्टामा २३ लाख ३२ हजार ८ सय लिटर पानी एक वर्षदेखि आए पनि उपभोक्ताले भने पिउन पाएका छैनन् ।