कैलाली– वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रदेशको अस्थायी राजधानीको विषयमा आन्दोलन नगर्न आग्रह गरेका छन्।
नेपाल प्रेस युनियन कैलालीले शनिबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले सम्बन्धित प्रदेशले विधिसम्मत ढंगले आफ्नो राजधानी तोक्न सक्ने जिम्मेवारी भएकाले त्यसैमा अल्झिएर आन्दोलन गरिरहन उपयुक्त नभएको उल्लेख गरे।
नेपाली कांग्रेसका नेता समेत रहेका विश्वकर्माले संविधानको पूर्ण कार्यान्वयन गराउन राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसका लागि वर्तमान सरकारले अस्थायीरुपमा राजधानी तोकेको बताए।
राजधानी तोकिँदैमा विकास हुन्छ भन्ने मनसायले अघि बढ्न नहुने भन्दै उनले थपे, ‘देश संघीय संरचनामा गइसकेको छ, सम्पूर्ण अधिकार स्थानीय तहमा पुगिसकेका छन्। राजधानी जहाँ भए पनि स्थानीयवासीलाई कुनै असर पर्दैन।’
उनले कांग्रेस पाँच वर्षका लागि प्रतिपक्षको भूमिकामा रहने बताएका छन्।
जनताले कांग्रेसलाई प्रतिपक्ष भएर बस्न जनादेश दिएकाले सरकारमा नजाने बताए। उनले कांग्रेसप्रति जनताको विश्वास र भरोसा भने अझै कायम रहेको दाबी गरे।
विश्वकर्माले वर्तमान सरकारले ७ नम्बर प्रदेशको विकासका लागि महाकालीको डिपीआर, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, गौरीफन्टा नाकाको स्तरोन्नति, सुदूरपश्चिममा पोलिटेक्निकल इन्स्टिच्युट बनाउने काम अघि बढाइसकेको बताए।