काठमाडौं ।
विगत २० वर्ष अघिदेखि नेपालका क्षयरोगीहरुको उपचारमा आर्थिक सहयोग गर्दै आएको नर्वेका मुटुरोगी तथा क्षयरोगीहरुको संस्था नर्वेजियन हार्ट एण्ड लंग्स डिडिज एसोसियसन (एलएचएल) ले सन् २०१८ को जनवरीदेखि नेपाललाई दिँदै आएको अनुदान सहयोग बन्द गरेको छ । कार्यक्रमको आवश्यकता र महत्व हेरि सो संस्थाले हरेक वर्ष नेपाललाई ३ देखि ५ करोड रुपैया आर्थिक सहयोग गर्दै आएको थियो ।
नेपालमा नमुनाको रुपमा डट्स कार्यक्रम शुरु भएपछि सन् १९९६ देखि सो संस्थाले नियमितरुपमा दिँदै आएको अनुदान डिसेम्बर २०१७ देखि बन्द भएतापनि आवश्यक हिसाव मिलानको काम भने जनवरीको अन्तिमसम्म म्याद दिएको छ ।
आठमहिनासम्म क्षयरोगको औषधि सेवन गरि निको नभएर जटिलखालको क्षयरोग लागेका औषधि प्रतिरोधि क्षयरोग (एमडिआर टिबि रोगी) लाई आवासगृहमा राखी उनीहरुलाई सिपमुलक तालीम दिँदै आत्मनिर्भर बनाउने ,सर्वसाधारणलाई क्षयरोग लाग्ने कारण, उपचारको व्यवस्था, रोकथामका उपायबारे जनचेतना फैलाउने लगायतका कार्य (एडभोकेसी)को लागि नर्वेले सरकारको राष्ट्रिय क्षयरोग केन्द्रलाई त्यो अनुदान दिँदै आएको थियो ।
पछिल्ला केहीवर्षदेखि नर्वेबाट पठाएको अनुदानको व्यापक दुरुपयोग भएको, खर्चको विवरण पारदर्शी र चित्तबुझ्दो नभएको, एड्भोकेसी शिर्षकमा केन्द्रका निर्देशकलगायत स्वास्थ्य मन्त्रालय र केन्द्रीय कारागारमा कार्यरत चिकित्सक समेत विदेश शयरमा गएको प्रमाणको आधारमा नर्वेकोे सो संस्थाले नेपाललाई दिँदै आएको अनुदान बन्द गरेको हो ।
सो संस्थाबाट पठाएको अनुदान आधाजसो (करीव २ करोड) नेपाल सरकारको बजेट अर्थात रातो कितावमा उल्लेख गर्ने गरिएता बाँकी अनुदान रातो कितावमा उल्लेख नगरी नेपालस्थित कार्यक्रम संयोजक गोकुल मिश्रले आफ्नो तजवीजमा खर्च गर्ने गरेको प्रमाण भेटेपछि गतवर्षदेखि सो संस्था रुष्ट भएको थियो । संस्थाले विगत २ वर्षदेखि यसबारे आन्तरिकरुपमा छानवीन गर्दै आएको बताइन्छ ।
रातो कितावमा उल्लेख भएको अनुदानमा पनि मिश्रले केन्द्रका निर्देशकसंगको मिलोमतोमा दुरुपयोग गर्दै आएको केन्द्रका कर्मचारी आरोप लागउँछन ।
एड्भोकेसी शिर्षकमा प्राप्त रकममध्ये केन्द्रका निर्देशक डा.केदार नरसिंह केसीको निर्देशनमा नगरकोटको एउटा होटेलमा ४ र ५ माघमा दुईदिने आवासिय कार्यक्रम गरी पत्रकारहरुलाई भत्ता र मदिरामा करीव ३ लाख रुपैया सकेको थियो । विगतमा पनि यसैगरी अनुदान दुरुपयोग हुँदै आएको गुनासो संस्थाले पाएको थियो ।
सो संस्थाको नेपालस्थित कार्यक्रम संयोजक मिश्रले नर्वेको संस्थाबाट पठाएको रकममा व्यापक दुरुपयोग गरेको, एडभोकेसीको नाउँमा आफ्नो नजिकका चिकित्सक र केन्द्रका निर्देशकको निर्देशनमा हरेक वर्ष विदेशका कार्यक्रममा तालीम गोष्ठी सेमिनार भनेर पठाउने गरेको गुनासो सिधै संस्थाको केन्द्रीय कार्यालय नर्वेमा गतवर्ष पुगेपछि संस्थाले आफ्नो सहयोग बन्द गरेको बताइन्छ ।
नर्वेबाट प्राप्त अनुदान पारदर्शी नभएको, नेपाल संयोजक मिश्रको तलव मनोमानी ढंबाट आफैंले तोक्ने गरेको, तलव लिएवापत नेपाल सरकारलाई कुनै कर नतिरेको आरोप लागेको छ । सो संस्थाबाट केन्द्रमा संयोजक मिश्रको साथै एकजना चिकित्सक, एकजना कार्यालय सहयोगी र एकजना सवारी चालक कार्यरत थिए ।
क्षयरोगबारे जनचेतना फैलाउने विषयमा पनि सो संस्थाले पठाएको रकम दुरुपयोग गरी क्षयरोग नियन्त्रणमा जोड दिन नसकेता पनि निज मिश्रले भने दधिकोटमा २ करोड पर्ने घर किनेको केन्द्रका कर्मचारी बताउँछन ।
कार्यालयमा नबसी हरेक दिनजसो आफ्नो भ्रमण आदेश आफैं बनाई प्रायःजसो विभिन्न सुगम जिल्ला र विदेश घुम्ने गरेको र सो वापतको बील बनाई आफैं रकम कुम्ल्याउने गरेको जस्ता आरोप लगोको छ ।
ब्रिटिस नेपाल मेडिकल ट्रष्ट (बिएनएमटि) नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाबाट १० वर्षअघि नर्वेको एलएचएल संस्थामा आएका मिश्रले नर्वेले आफ्नो अनुदान सहयोगलाई निरन्तरता नदिने भएपछि उनी फेरी केन्द्रका पर्व निर्देशकद्धय डा.विकास लामिछाने, निमित्त महानिर्देशक (हाल राजीनामा दिएका) डा.राजेन्द्र पन्तको सिफारिसमा फेरी बिएनएमटिमा छिरेका छन् ।