नेकपा एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ । त्यस्तै बैठकले नयाँ सरकार बन्नासाथ समृद्धि र सुशासनको मार्गचित्र कार्यान्वयनमा लैजान अर्काे कार्यदल गठन गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार बसेको समिति बैठकले सुवास नेम्वाङ नेतृत्वको कार्यदलको राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड सम्बन्धी प्रतिवेदन अनुमोदन गरेको हो । नेम्वाङ नेतृत्वको कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा गठबन्धनले उम्मेदवारी दिने र यसमध्ये एमालेले २९ र माओवादीले १४ उम्मेदवार उठाउने तय गरेको थियो । सोहि अनुसार कार्यदलले प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र उपसभामुखमा कसरी जिम्मेवारी बाँडफाँड गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।
समग्रमा एमालेले ४ र माओवादीले २ मुख्यमन्त्री लिने र सभामुखमा दुवै दलको निर्वाचित संख्या अनुसार मिलाएर लैजाने प्रस्ताव गरिएको छ । यसबारे भने संयोजन समितिले नै अन्तिम निर्णय गर्नेगरी प्रतिवेदन पेश भएको छ । बैठकले नयाँ सरकारले लिने समृद्धि र सुशासन सम्बन्धी कार्यक्रम तय गर्न कार्यदल गठन गरेको छ । कार्यदललाई नयाँ सरकार बन्नासाथ संयुक्त घोषणा पत्रमा उल्लेख भएका नीतिलाई कार्यक्रममा बदल्ने म्याण्डेट दिइएको छ ।
निकट भविश्यमा बन्ने सरकारले तत्काल सुरुवात गर्नु पर्ने ठूला, अल्पकालीन र साना कार्यक्रमको पहिचान गरी लागू गर्न सकिने प्रारुप कार्यदलले तयार गर्नेछ । कार्यदलको संयोजक एमाले उपाध्यक्ष बामदेव गौतम र सदस्यहरुमा गिरिराजमणि पोखरेल, भीम रावल, वर्षमान पुन, भीमबहादुर श्रेष्ठ रहेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।
एकीकृत पार्टीको शीर्ष नेतृत्व तथा मातहत कमिटीको सांगठनिक समायोजनका विषयमा दुई अध्यक्षबीच अझै एक चरण छलफल गरी पुन संयोजन समितिको बैठक बस्ने वताइएको छ । मोटामोटी विषयहरुमा मतैक्य कायम रहे पनि सांगठनिक समायोजनका आयामबारे थप छलफल जरुरी भएको बैठकपछि नेताहरुले जनाएका छन् ।