काठमाडौं ।
नयाँबानेश्वरको काव्य स्कुलमा अध्ययनरत विद्यार्थीहरुको जन्मदिन कोषमा जम्मा भएको रकमबाट खोटाङ्ग जिल्लाको ऐंसेलुखर्कमा रहेको सामुदायीक विद्यालय त्रिभुवन माविको विज्ञान प्रयोगशालाको लागि आवश्यक सामाग्री प्रदान गरिएको छ ।
काव्य जन्मदिन कोषका अध्यक्ष एवम् विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले काव्य स्कुलमा आयोजित एक कार्यक्रममा त्रिभुवन माविका विज्ञान शिक्षक देवान सिंह राईलाई २५ हजार रुपैयाँबराबरको विज्ञान प्रयोगशाला सामाग्री तथा प्राथमिक उपचार सामाग्री सहितको प्राथमिक उपचार बाकस हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रममा काव्य स्कुलका निर्देशक धर्मेन्द्रप्रकाश राजभण्डारी, एभरेस्ट इंगलिस स्कुल मिवाछें भक्तपुरका संस्थापक प्रिन्सिपल एव्म एभरेस्ट जन्मदिन कोषका अध्यक्ष भक्त राजभण्डारीले पनि जन्मदिनकोषमा संकलन भएको रकमबाट दुर्गमभेगका सामुदायीक विद्यालयको विकासमा सहयोग पुग्न जाने भएकोले यस्तो कार्यलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यस अवसरमा विद्यार्थीको साथै अभिभावकहरु मनोज राजभण्डारी तथा हेमन्त कुमार श्रेष्ठको पनि सहभागिता थियो ।
काव्य स्कुलमा अध्ययनरत विद्यार्थीको जन्मदिनको अवसरमा चकलेट र केक ल्याएर साथीहरुलाई वाँडने परम्पराकोअन्त्य गर्दै विद्यार्थीले आफ्नो इच्छा र क्षमता अनुसारको नगद ल्याएर काव्य जन्मदिन कोषमा राख्नुपर्ने नियम बनाएको छ । कोषमा जम्मा भएको रकमबाट विद्यालयले हरेक वर्ष यस्तै शैक्षिक र सामाजिक कार्यमा खर्च गर्ने गरेको छ ।