भारतमा पानीजहाज मर्मतका क्रममा विस्फोट हुँदा ५ को मृत्यु

280

नयाँदिल्ली- भारतको पानीजहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा ५ व्यक्तिको मृत्यु भएको छ।

केरला प्रदेशमा मंगलबार भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।

केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २ सय किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान मर्मत कारखानामा सो विस्फोटनको घटना भएको हो।

एक पानीजहाज मर्मत भइरहेको अवस्थामा विस्फोटन भएको थियो। सरकारी अधिकारीहरुका अनुसार घटनामा घाइते भएकामध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाएका छन्।

विस्फोटनमा परेको जहाज राज्य नियन्त्रित तेल र प्राकृतिक ग्यास निगमको भएको बताइएको छ। मर्मतका लागि सो जहाज मर्मत कारखानामामा लगिएको थियो।

विस्फोटनको कारण अहिलेसम्म खुल्न नसकेको अधिकारीहरूले बताएका छन्।

केरलाका मुख्य मन्त्री पिनारायी विजयानले घटनाप्रति दुःख व्यक्त गरेका छन्।