प्रदेश २ मा सरकार गठन : मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए सपथ

407

जनकपुरधाम :  प्रदेश २ को सबभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा सरकार गठन भएको छ।

मधेशी गठबन्धनमा आवद्ध फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयुक्त सरकारका मुख्यमन्त्रीसँगै मन्त्रीहरुले बिहीबार शपथ ग्रहण गरेका छन्।

फोरमका केन्द्रीय उपाध्यक्ष मोहम्मद लालबाबु राउत दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् भने केन्द्रीय कोषाध्यक्ष विजय यादवले अर्थमन्त्रीको सपथ लिएका छन्।

यसैगरी राजपाबाट संसदीय दलका नेता जितेन्द्र सोनलले भौतिक योजनासहित राजपाको भागमा परेको मन्त्रालय सम्हाल्ने गरी शपथ लिएका छन्।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले  उनीहरुलाई शपथ ग्रहण गराएका छन्।

फोरम र राजपाको सहमति अनुसार दुबै पार्टीले एक एक जना मन्त्री पठाएका हुन्। बाँकी मन्त्रीहरुको विषयमा शुक्रबार टुंगो लाग्ने बताइएको छ।

दुबै पार्टीले हिन्दी भाषालाई कामकाज र मधेशको सम्पर्क भाषा बनाउने माग राख्दै आएपनि फोरमका मन्त्रीहरुले आ–आफ्नै भाषामा शपथ लिएका छन्।

मुख्यमन्त्री राउतले भोजपुरीमा, अर्थमन्त्री यादवले मैथिलीमा र भौतिक योजना मन्त्री सोनलले हिन्दीमा सपथ लिएका छन्।