काठमाडौं — इरानमा आइतवार भएको विमान दुर्घटनामा सबै ६६ यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनीका अधिकारीहरूले बताएका छन् ।
तेहरानबाट यासुज जाँदै गरेको आसेमान एयरलाइन्सको विमान जाग्रोस क्षेत्रमा खसेको थियो ।
रेड क्रिसेन्टले इस्फाहान प्रान्तको सेमिरोम शहरनजिकको दुर्घटना क्षेत्रमा खोजी तथा उद्धार टोली खटाएको छ ।
फ्लाइट ईपी ३७०४ तेहरानबाट स्थानीय समयअनुसार बिहान ८ बजे उडेको एक घण्टापछि राडारबाट हराएको छ ।
विमान यासुजभन्दा २२ किलोमिटर वरै रहेको देना पर्वतमा दुर्घटनाग्रस्त भएको इरिन न्युज च्यानलले बतायो ।
फ्रान्समा बनेको दुई इन्जिन भएको विमानमा ६० यात्रु, दुई सुरक्षाकर्मी, दुई विमान परिचारिका र पाइलट तथा कोपाइलटको मृत्यु भएको एयरलाइन्सको भनाइ छ ।
यात्रुमा एक बालक पनि रहेको आपतकालीन सेवा प्रमुख पीर होसेन कुलिभान्दले बताए ।
खराब मौसमका कारण उद्धारकार्यमा अवरोध आएको छ । कुलिभान्दका अनुसार, उद्धारटोलीहरू उक्त क्षेत्रमा हेलिकप्टरमा नभई पैदलै गएका छन् ।
बीबीसीबाट