काठमाडौं ।
अर्थ मन्त्रालयले सरकारी गोष्ठी, वैठक, सेमिनार र तालीमहरु सरकारी खर्चमा होटेलहरुमा नगर्न निर्देशन दिएको चारदिन पनि नवित्दै स्वास्थ्य मन्त्रालय मातहतका दुई अलग निकायले सरकारी खर्चमा तारे होटेल र वाहिरी सभा हलमा कार्यक्रम सञ्चालन गर्दा पनि स्वास्थ्य मन्त्रालय मौन छ ।
अतिरिक्त खर्चको भार कम गर्न सम्वनिधत कार्यालय बाहेक पैसा तिरेर होटेलमा या अन्यत्रका सभाहलमा कार्यक्रम नगर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय र मातहतका कार्यालय, विभाग र केन्द्रलाई निर्देशन दिएको थियो ।
सरकारी कार्यालयको खर्च व्यवस्थापनमा धेरै चुनौति र वेतिथि देखिएको भन्दै अर्थ मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘अनावश्यक विषयमा खर्च नगर्नु’ भनेर निर्देशन दिएतापनि राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले १० चैतमा आयोजना गरिने दुईघण्टे कार्यक्रमको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल २ लाख १४ हजारमा बुक गरेको छ । सो केन्द्रले त्यो दिनको २ घण्टे कार्यक्रमको लागि सभाहलको साथै विभिन्न १७ वटा शिर्षकमा गरि १५ लाख ५८ हजार रुपैया छुट्याएको छ ।
‘क्षयरोगमुक्त विश्वको लागि नेताको आवश्यकता’ नाराका साथ मनाउन लागिएको सो दिवसका लागि अनावश्यकरुपमा त्यत्रो रकम छुट्टयाइएको हो । गतवर्ष केन्द्रकै सभाहल ठिमीमा ३ लाख रुपैया खर्चेर क्षयरोग दिवस मनाएको थियो ।
यसैगरि स्वास्थ्य मन्त्रालय मातहतकै राष्ट्रिय तालीम केन्द्र र निक साइमन इन्स्टिच्युटले मंगलबारदेखि ठुलो रकम खर्चेर कालिमाटीको पाँचतारे होटेल सोल्टीमा तीनदिने ग्रामिण स्वास्थ्यकर्मीहरुको तालीम सञ्चालन गर्दैछ । तालीम केन्द्रकै भवनमा करीव एकसयजना भन्दा बढी अट्न सक्ने क्षमताको सभाहल हुँदाहुँदै पनि केन्द्रले सो तालीम सोल्टी होटेलमा आयोजना गर्न लागेको हो ।
ग्रामिण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने र उनीहरुलाई पाँचतारे होटेलको रमझममा सहभागी गराएर ठुलो रकममा चलखेल गर्ने गलत नियतका कारण तालीम केन्द्रले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याइएको बुझिएको छ ।