काठमाडौं ।
साधारणतया कुनै व्यक्तिको नीजि घर या पर्खाल बनाउँदा सम्वन्धित गाउँपालिका या नगरपालिकासंग नक्सा पास भएको प्रमाण हुनु जरुरी छ । अन्यथा सम्वन्धित नगरपालिकाले भवन शिलवन्दी गरि निर्माण कार्य रोक्न सक्छ ।
भक्तपुरको ठिमी नगरपालिका ४ तछुटोलस्थित राष्ट्रिय क्षयरोग केन्द्रको हातामा करीव १२ रोपनी जग्गामा निर्माण गर्न लागिएको तीनसय शैय्याको छातीरोग तथा क्षयरोग अस्पतालको सम्वन्धित मध्यपुर ठिमी नगरपालिकामा नक्सा नै दर्ता भएको छैन, पास हुने त परै जावस् ।
३५ करोडको लागतमा डेढवर्षअघि निर्माण कार्य शुरु भई २५ प्रतिशत काम सकिएको अस्पताल भवनको लागि सरकारले हरेक वर्ष ७ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ ।
भवनको नक्सा नभएको भन्दै मध्यपुर ठिमी नगरपालिकाले गत १३ पुसमा शिलवन्दी गरेको थियो । नक्सा दर्ता नै नभएको र हालसम्म जग्गाको भोगाधिकार (लालपुर्जा) नै नपाएको विवादित अस्पतालको प्रधानमन्त्री केपी ओलीले शनिबार शिलान्यास गर्दैछन् ।
साधारणतया कुनैपनि भवनको शिलान्यास गर्ने भनेको त्यसको जग हाल्नु अगाडि हो । तर, विडम्वना शिलामा शिलान्यास गर्ने व्यक्तिको नाम राख्ने होडमा प्रधानमन्त्री ओली अस्पताल भवन निर्माणको करीव २५ प्रतिशत काम सकिएपछि शिलान्यास गर्र्दैछन । उनलाई प्रमुख अतिथि बनाएर विवादित अस्पताल भवन शिलान्यासको लागि ल्याउन तिनै नगरप्रमुख श्रेष्ठ र पुर्वमन्त्री महेश बस्नेत लागि परेको बताइएको छ ।
‘तिनै नगरप्रमुखले नक्सा नबनाएको भनेर अस्पताल भवनको निर्माण कार्य रोक्दै शिलवन्दी गर्न लगाए । अहिले उनैले भवन शिलान्यासको लागि प्रधानमन्त्री ल्याउने प्रयास गर्दैछन,अनि आफु अतिथि बन्दैछन, कस्तो लाजमर्दाे कुरा ?’ एकजना वडाध्यक्षले नाम नबताउने शर्तमा भने ।
लालपुर्जा मात्रै नभई नक्सापास पनि नभएको अस्पतालसंग मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सम्वन्धित वडाका वडाध्यक्ष कुमार श्रेष्ठलाई जानकारी नदिई एकलौटीरुपमा ६ वुँदे सहमति गरि शिलवन्दी तोडेर निर्माण कार्य फुकुवा गरेपछि नेपाली कांग्रेस समर्थित वडाध्यक्ष र जिल्लाका पदाधिकारीले नगरप्रमुखको विरोध गरेका छन् ।
नगरपालिकामा अस्पतालको नक्सा दर्ता नै नभएको, सम्वन्धित ४ नं वडा कार्यालयमा निर्माणाधिन अस्पतालको कुनै कागजपत्र नआएको र सर्जमिन र मुचुल्का कुनै नभएको वडा कार्यालयले जनाएको छ ।
निर्माण गरिने अस्पतालमा मध्यपुर ठिमीका वासिन्दालाई रोजगारी दिनुपर्ने, उपचारमा ५० प्रतिशत छुट दिनुपर्ने लगायत ५ वुँदा पारदर्शीरुपमा र केही सहमति गोप्यरुपमा नगरप्रमुख श्रेष्ठ र केन्द्रका निर्देशक डा.केदार नरसिंह गत ६ चैतमा भएको बुझिएको छ ।