आफ्ना सन्तान विक्री गर्ने सरकारबाट समृद्धि असंभव : अध्यक्ष बिजुक्छें

340

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले युवालाई बैदेशिक रोजगारको नाममा विदेश पठाउनुलाई सन्तान बेच्नु भएको बताएका छन् ।
‘विभिन्न म्यानपावर कम्पनीहरुले नेपाली युवाहरुलाई सस्तोमा विदेशमा दास बनाई बेचिरहेको छ, यो काममा सरकारले नै म्यानपावर कम्पनीहरुलाई सघाएको छ, यसर्थमा सरकारमा गएका नेपाली काँग्रेस, एमाले, राप्रपा र मधेशवादी दलहरुले आफ्ना सन्तानलाई बेचिरहेको छ ।’ अध्यक्ष बिजुक्छेंले भने ।
शुक्रबार भक्तपुरमा संस्थागत विद्यालय संघ नेपाल(इसान) ले गरेको कार्यक्रममा अध्यक्ष बिजुक्छेंले सरकारले युवाहरुलाई स्वदेशमै रोजगारी दिनुको सट्टा विदेश पठाएर सन्तान बेचिरहेको बताउँदै सरकारकै गलत नीतिको कारण देश परनिर्भर बनिरहेको पनि उल्लेख गरे ।
उनले चुनावमा जित्नका लागि ठूला दलहरुले समृद्धिको नारा लगाए पनि दलका नेताहरु नै समृद्धिको विषयमा अनविज्ञ रहेको पनि बताए । उनले संघ राज्य हुँदैमा देशमा समृद्धि नआउने तथ्य विभिन्न देशहरुको अहिलेको अवस्थाले देखाइरहेको चर्चा गर्दै दलहरुले दिएको समृद्धिको नारा धोखामात्र हुने पनि बताए ।
दलहरुले दिएको समृद्धिको नारा भनेको चंगा उडाइ मात्र हो, एकजनाले चंगा उडायो, अर्कोले पनि उडाएको हो, संघ राज्य नै समृद्धिको आधार होइन, समृद्धिका लागि गरिबी न्यूनीकरण नगरी हुन्न ।’ उनले भने । नेपाल मजदुर किसान पार्टीबाट गत मंसिर २१ गते सम्पन्न प्रतिनीधिसभा तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित उम्मेदवारहरु क्रमशः पार्टीका सचिव प्रेम सुवाल, सदस्य सुरेन्द्रराज गोसाइँ र समानुपातिक तर्फबाट प्रदेश नं. ३ का सांसद सिर्जना सैंजूलाई बधाई ज्ञापन गर्दै अध्यक्ष बिजुक्छेंले समृद्धि कसरी आउँछ भन्ने विषयमा शिक्षकले वस्तुनिष्ठ तरिकाले विश्लेषण गरी विद्यार्थीलाई ज्ञान दिनुपर्नेमा जोड दिए ।
उनले देशमा जबसम्म असल र राम्रा शिक्षक हुँदैन तबसम्म समृद्धि नआउने भएकोले समाजवादी व्यवस्थामा मात्र समृद्धि सम्भव भएकोले विद्यार्थीलाई समाजवादी बन्दोबस्तबारे निरन्तर प्रशिक्षण दिनुपर्ने पनि बताए ।
सोही कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले ज्ञानलाई विज्ञानसँग जोड्ने काममा शिक्षकको भूमिका अहम् हुने बताए । फरक प्रसंगमा सांसद सुवालले एमाले र माओवादीले अझै पनि छलछामको राजनीति गरिरहेको बताउँदै ती दलहरुको योजनाबाट समृद्धि सम्भव नभएको जनाए ।
कार्यक्रममा प्रदेश सांसद सुरेन्द्रराज गोसाइँले देशमा आएको नयाँ व्यवस्थाअनुसार जनातले परिवर्तनको अपेक्षा गरे पनि त्यो अनुसार नहुँदा निराश हुने जनतालाई आश जगाउने काम शिक्षकले लिनुपर्नेमा जोड दिए । ‘शिक्षक कहिल्यै पनि निराश हुने गर्दैनन्, शिक्षक निराश भए समाज निराश हुन्छ, त्यही भएर शिक्षक उत्साहित भएर लाग्नुपर्छ, शिक्षकले सरकारमा गएका दलहरुको फोस्रा नाराका भरमा देशमा समृद्धि नआउने भएकाले समानता सहितको समृद्धिका लागि विद्यार्थीलाई समाजवादी विचार दिनुपर्छ ।’ उनले भने ।
कार्यक्रममा समानुपातिक सांसद सिर्जना सैंजूले प्रदेश ससदको अवस्थाबारे जानकारी दिइन् । आयोजक इसान अध्यक्ष प्रेमजन थापा श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांलगायतले शिक्षा सुधारका लागि इसानले खेलिरहेको भूमिकाबारेमा चर्चा गरेका थिए ।