“समाचार प्रभाव” प्रधानमन्त्री नगएपछि राज्यमन्त्रीबाट शिलान्यास

376

शिलवन्दी गर्ने नगरप्रुमख, कार्यक्रमको अतिथि

बलराम प्यासी
भक्तपुर ।
‘नक्सा पास नभएको विवादित अस्पताल शिलान्यास गर्दै प्रधानमन्त्री ’ शिर्षकमा संवाहक डटकम, राजधानी दैनिक लगाएतका पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि आफु विवादमा परिने डरले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको हातामा निर्माणाधिन ‘क्षयरोग तथा छातीरोग अस्पताल’ को शनिबार शिलान्यास गर्न गएनन् ।
विश्व क्षयरोग दिवस २०१८ को अवसर पारेर प्रधानमन्त्री ओलीलाई सो अस्पतालको शिलान्यास गर्न लगाएर उनलाई विवादमा तान्ने प्रयास अन्ततः असफल बन्न पुगेको थियो । विगत ३ वर्षदेखि राष्ट्रिय क्षयरोग केन्द्र ठिमी आर्थिक अनियमितता र भ्रष्टाचारको अखडाको रुपमा चर्चामा छ ।
‘कुनैपनि भवनको जग हाल्नेबेलामा गर्नुपर्ने शिलान्यासको काम सो अस्पतालको हकमा भने गत डेढवर्ष अघिदेखि निर्माण कार्य शुरु भई करीव २५ प्रतिशत निर्माण कार्य सकिएको’ तथ्य समाचारमा छापिएको थियो ।
प्रमुख अतिथिको रुपमा रहेका प्रधानमन्त्री ओली कार्यक्रममा नगएपछि उनीभन्दा तीनतह (प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री) मुनिकी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले २५ प्रतिशत निर्माण सम्पन्न भइसकेको सो अस्पतालको शिलान्यास गरेर नयाँ रेकर्ड कायम गरीन ।
प्रधानमन्त्रीको नाउँमा शिलान्यासको शिलालेख तयार गरिएको भएतापनि सो शिलालेख हताहतार लुकाएर साधारण तरीकाबाट राज्यमन्त्रीले शिलान्यास गरेकी थिइन । कार्यक्रम आयोजक राष्ट्रिय क्षयरोग केन्द्रले एकहप्ता अघिदेखि प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भनेर सबैतिर निमन्त्रणा कार्ड बाँडेको थियो ।
करीव १२ रोपनीमध्ये करीव २ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको सो अस्पताल भवन निर्माणको लागि केन्द्रले सम्वन्धित मध्यपुर ठिमी नगरपालिकासंग स्विकृति नलिएको कारण १३ पुसमा नगरपालिकाले निर्माण कार्य बन्द गर्दै शिलवन्दी गरेको थियो ।
त्यसको दुई महिनापछि गत ६ चैतमा नगरप्रमुख श्रेष्ठ र केन्द्रका निर्देशकबीच ६ वुँदे देखावटी र केही विवादास्पद आन्तरिक सहमति गरि लालपुर्जा र नक्सा दर्ता नै नभएको अस्पताल भवनको शिलवन्दी खोलेर पुनः निर्माण गर्ने बाटो खोलिदिएका थिए ।
सम्वन्धित ४ नं वडाका वडाध्यक्ष र वडा कार्यालय समेतलाई जानकारी नदिई नगरप्रमुख श्रेष्ठको एकल निर्देशनमा अस्पतालको शिलवन्दी खोल्न लगाएपछि अस्पतालको निर्माण विवाद सतहमा आएको थियो ।
नगरप्रमुख श्रेष्ठको एकल निर्णयको नेपाली काँग्रेस सम्वद्ध उपमेयर, वडाध्यक्ष लगायत पार्टीका कार्यकर्ताहरुले एमाले समर्थित नगरप्रमुख श्रेष्ठको निर्णयको खुलेरै विरोध गरेका थिए ।
निर्माणाधिन अस्पतालको आफैं उपस्थित भएर १३ पुसमा शिलवन्दी गरेका मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ अस्पताल शिलान्यास कार्यक्रममा ‘अतिथि’ बनेका थिए भने प्रधानमन्त्री केपी ओलीलाई कार्यक्रमको प्रमुख अतिथि बनाउन पहल गर्ने पुर्व उद्योगमन्त्री तथा भक्तपुरका युवा नेता महेश बस्नेत पनि अतिथिको रुपमा त्यहाँ पुगेका थिए ।
यसअघि प्रधानमन्त्रीलाई प्रमुख अतिथि, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याललाई विशेष अतिथि तथा पुर्वमन्त्री बस्नेत र नगरप्रमुख श्रेष्ठलाई अतिथि बनाएर तय गरिएको सो कार्यक्रममा प्रधानमन्त्री नआएपछि उनी भन्दा तीनतह मुनिकी राज्यमन्त्री अर्याललाई दिनको १ बजे प्रमुख अतिथि घोषणा गरिएको थियो ।
विहानको ११ बजे तय गरिएको कार्यक्रममा पौने एक बजेसम्म प्रधानमन्त्री नआएपछि आयोजक राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.केदारनरसिंह केसीलगायत अधिकारीहरुको ओठतालु सुकेको देखिन्थ्यो ।
प्रधानमन्त्री नआउने पक्का भइसकेपछि स्वास्थ्य सेवा विभागका निमित्त निर्देशक रहिसकेको क्षयरोग केन्द्रका पुर्व निर्देशक डा.राजेन्द्रप्रसाद पन्त कार्यक्रम शुरु हुन अघिनै कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
नेपाल सरकारको करीव ३५ करोड रुपैयाको लागतमा निर्माण गर्न लागिएको ३०० शैय्याको सो अस्पतालको जग हाल्नेक्रमदेखि लाखौं रुपैयाँको माटो समेत विक्री गरेर आर्थिक अनियमितता गरिएको कुरा सार्वजनिक भएको थियो ।
मध्यपुर ठिमी नगरपालिका ४ तछुुटोलको पर्ती जग्गा (डाडाँ) लाई करीव ५० फिट भासेर त्यहाबाट निस्केको माटो सम्वन्धित ठेकेदार र केन्द्रका निर्देशक मिलेर बेचेर खाएको समेत आरोप लागदै आएको थियो ।

नक्सा पास नभएको विवादित अस्पताल शिलान्यास गर्दै प्रधानमन्त्री