काठमाडौं । पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समाजसेवा नै राजनीतिकर्मीको पहिलो उद्धेश्य रहेको प्रष्ट पारेका छन । ‘राजनीति गर्ने व्यक्तिले अन्ततः जे काम गछर्, त्यो समाजकै उत्थान र विकासको लागि गर्ने हो’ उनले भने ।
कोटेश्वर व्यवसायी संघको आयोजनामा शनिबार कोटेश्वर चोकमा आयोजित वृहत सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले आफ्नो टोललाई सफा, सुन्दर र स्वच्छ पार्नु हरेक नागरिकको प्रमुख दायित्व रहेको औंल्याए । आफ्नो ठाउँ सफा राख्न सकेमात्रै क्रमशः सबैतिर सफा र स्वच्छ शहर हुने पनि उनले बताए ।
आफुले घरबाट लगाएर आएको सेतो सर्टमाथि कोटेश्वर व्यवसायी संघको निलो टिसर्ट खप्टिएका नेता नेपालले टोल तथा नगर सफा राख्न संघले सह्रानिय कार्य गरेको पनि बताए । ‘कोटेश्वरको ब्युटी, सबैको ड्युटी’ नाराका साथ सरसफाई कार्यक्रम आयोजना गरिएको थियो ।
नेता नेपालले काठमाडौं महानगरपालिका ३२ नं वडाका अध्यक्ष नवराज पराजुली, महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राजु लामा, आयोजक संघका अध्यक्ष सरोजकुमार थापा, सरस्वती क्लवका अध्यक्ष शिक्षित पराजुली, उपाध्यक्ष उत्तम भण्डारी, युवा समाजसेवी सुनिल केसीको साथमा हातमा खरेटो लिएर कोटेश्वर चोकका केही भाग बडारेर फोहोर संकलन समेत गरी कार्यक्रमका सहभागीलाई हौस्याएका थिए । सरसफाई कार्यमा संघका पदाधिकारीहरु, प्रभाग कोटेश्वरका प्रहरी तथा स्थानीय युवाहरुको बाक्लो सहभागिता थियो ।