काठमाडौं ।
गत चारदिनको अवधिमा कोटेश्वर, जडिबुटी र नरेफाँटका ४ जनाले झुण्डेर आफ्नो ज्यान अकालमा फालेकोे प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामाका अनुसार शनिबार विहानमात्रै दुईजनाले झुण्डिएर आत्महत्या गरेका थिए ।
जडिबुटीस्थित दिदीको घरमा बस्दै आएका ५३ वर्षिय उद्धवसिंह रानालाई मृत अवस्थामा र बालकुमारी पुलनजिक डेरामा बस्ने युवती मुना तामांगलाई कोठामा झुण्डिएको अवस्थामा शनिबार विहान ४ बजे फेला पारेको हो । अचेत अवस्थाकी तामांगलाई छिमेकीको सहयोगमा तत्काल उपचारको लागि अस्पताल लगिएको थियो ।
यसैगरि ५ चैतमा नरेफाँटबाट हराएका २७ वर्षिय व्यापारी गोविन्द बहादुर कार्कीलाई काभ्रेको एउटा जंगलमा झुण्डिएर मरेको अवस्थामा धुलिखेल प्रहरीले शुक्रबार भेटेको थियो भने जडिबुटीको एउटा डान्सबारमा काम गर्ने १९ वर्षिया आशिका खत्री पनि जडिबुटीस्थित आफ्नै कोठामा झुण्डिएको अवस्थामा प्रहरीले भेटेको थियो ।
ती चारैजना मृतकबारे प्रहरीले अनुसन्धान गरिराखेको र शवको पोष्टमार्टम भइराखेको प्रभागका प्रमुख प्रहरी निरीक्षक लामाले बताए । निरीक्षक लामाका अनुसार अलग अलग ठाउँमा आत्महत्या गर्ने महिला पुरुष चारैजनाले मदिरा सेवन गरेको अनुसन्धानका क्रममा पाइएको थियो ।
यसैगरि नरेफाँट बस्ने ४३ वर्षिय आनन्द सुवेदीको अत्यधिक मदिरा सेवन गरि आफु बसेको घरको भर्यांगबाट ओर्लिेने क्रममा लडेर मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।