१० दिनमा १२२ नयाँ विद्यार्थी भर्ना, महेन्द्र शान्तिको भवन र छात्रवृत्तिमा विद्यार्थीको आँखा

394

बलराम प्यासी
काठमाडौं ।
सरकारले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थी आर्कषण बढाउन ५ बैशाखदेखि ‘नयाँ विद्यार्थी भर्ना अभियान’ शुरु गरेलगत्तै बालकोटको एकमात्र सामुदायिक विद्यालय महेन्द्र शान्ति माविमा १० दिनमा १ सय २२ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

२०४६ सालपछि छोटो अवधिमा धेरै नयाँ विद्यार्थी थपिएको यो नै पहिलो रेकर्ड भएको विद्यालयले जनाएको छ ।

विद्यालयमा स्थापना गरिएको ५ लाख ५० हजार रुपैयाँको २ वटा छात्रवृत्ति कोष र भारतीय दुतावासले १ करोड ५५ लाख रुपैयाको लागतमा बनाइदिएको नयाँ विद्यालय भवन नै विद्यार्थी आर्कषणको मुख्य कारण भएको विद्यालयले दावी गरेको छ । त्यसो त विद्यालयले भौतिक सुधार, पठनपाठनमा सुधार र प्रशासनिक सुधार गरेपछि विद्यार्थी संख्या वृद्धि भएको पनि दावी गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्तकुमार कार्कीले ५ लाख रुपैयाँ र शिक्षासेवी प्रा.डा. रामविक्रम सिजापतिले ५० हजार राशीबाट छात्रवृत्ति कोष खडा गरेका थिए ।
अध्यक्ष कार्कीले आफ्ना स्वर्गीय बुबा कृष्णबहादुर, स्वर्गीय आमा हीराकुमारी र स्वर्गीय दाजु अर्जुन कार्कीको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरेका हुन भने प्रा.डा सिजापतिले स्व.शान्ता सिजापतिको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरेका हुन ।

नर्सरी कक्षादेखि १० सम्मका विपन्न, जेहेन्दार र उत्कृष्ट ३० भन्दा बढी विद्यार्थीलाई नगदसहितको छात्रवृत्ति दिनेगरि ती दुईवटा छात्रवृत्ति कोष स्थापना गरिएपछि जेहेन्दार र राम्रा विद्यार्थीहरु सो विद्यालयमा आर्कषित भएको बताइन्छ । थपिएका नयाँ विद्यार्थीमा केही विद्यार्थी त नीजि विद्यालय छोडेर त्यहाँ भर्ना हुन आएका छन् ।

गतवर्षको शैक्षिकसत्रमा वर्षभरी मुस्किलले ७५ जना नयाँ विद्यार्थी थपिएकोमा यसपालिको बैशाख ५ देखि १४ गतेसम्म दशदिनमा १ सय २२ जना नयाँ विद्यार्थी थपिईसकेको प्रधानाध्यापक गोपाल विक्रम थापाले बताए ।

‘अझैपनि नयाँ विद्यार्थी संख्या थपिने क्रम जारी छ’—प्रधानाध्यापक थापाले भने—‘भर्ना हुन आएका विद्यार्थीमध्ये प्रवेश परिक्षा उतिर्ण भएकालाई मात्रै भर्ना गरेका छौं ।’ यही अनुपातमा नयाँ विद्यार्थीको चाप कायम रहेमा यो शैक्षिक सत्रमा विद्यार्थी संख्या ५ सय नाघ्ने विद्यालयले जनाएको छ ।
माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएका विद्यार्थी संख्या घटाउँदा पुराना विद्यार्थीको संख्या ३ सय ५० को हाराहारी छ भने त्यसमा १२२ नयाँ विद्यार्थी थपिइसकेका छन् ।

सरकारले ५ बैशाखदेखि शुरु गरेको नयाँ विद्यार्थी भर्ना अभियानलाई सघाउन विद्यालयले विद्यालयका सबै शिक्षक परिचालन गरि घरदैलो कार्यक्रम गरेको थियो ।

विसं २००९ सालमा स्थापित सुर्यविनायक नगरपालिका २ बालकोटको एकमात्र पुरानो सामुदायिक माविमा चालु शैक्षिक सत्रका लागि भर्ना हुने नयाँ विद्यार्थीको चाप देखेर विद्यालय प्रशासनमात्रै नभई त्यसक्षेत्रका शिक्षासेवीहरु समेत दंग परेका छन् ।

थपिएका १ सय २२ नयाँ विद्यार्थीमा भक्तपुरका साथै ७७ जिल्लाका मात्रै नभई भारतीय वालवालिका पनि रहेको प्रधानाध्यापक थापाले बताए । ‘बालकोट, चांगाथली, सिरुटार, कौशलटार आसपासका क्षेत्रमा रोजगारी गर्दै आएका भारतीय नागरिकका केटाकेटी पनि पढ्नको लागि भर्ना भएका छन’ थापाले भने ।

प्रधानाध्यापक थापाका अनुसार विद्यालयमा रहेका अनुशासनहीन र खराव चरित्रका विद्यार्थीलाई विद्यालयले यसैशैक्षिक सत्रदेखि विद्यालयबाट हटाउने अभियान पनि शुरु गरेको छ ।

‘हामी विद्यार्थी संख्या बढाउने भन्दा पनि गुणस्तरीय र अनुशासित विद्यार्थी मात्रै थप्ने अभियानमा छौं’—उनले भने—सुधार्न नसकिएका खराव आचरणका विद्यार्थीलाई विद्यालयबाट क्रमशः हटाउँदै लानेछौं ।’