काठमाडौं ।
मुलुकका ७७ जिल्लाका स्थानीय तहमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई काम गर्न समस्या रहेको महिला जनप्रतिनिधि, महिला अधिकारकर्मी लगायतले गुनासो गरेका छन ।
गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा हरेक स्थानीय तहमा प्रमुख या उपप्रमुख र अध्यक्ष र उपाध्यक्षमध्ये कम्तिमा एकजना महिला जनप्रतिनिधि हुनैपर्ने संवैधानिक व्यवस्थाले गर्दा निर्वाचित जनप्रतिनिधिमध्ये करीव ४१ प्रतिशत महिला निर्वाचित भएर उनीहरुले काम शुरु गरिसकेका छन ।
दक्षिण एशियाली महिला कोषको सहयोगमा दिदीवहिनी संस्थाद्वारा राजधानीमा आयोजित कार्यक्रममा महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले मुलुकभरका स्थानीय तहमा कार्यरत करीव ४१ प्रतिशत महिला जनप्रतिनिधिलाई काम गर्न निकै चुनौति रहेको बताइन ।
‘महिलाहरु घरव्यवहार सम्हाल्ने, केटाकेटी स्याहार्ने र चुलोचौकोमै सीमित रहनुपर्छ’ भन्ने विद्यामान परम्परागत सोचका कारण महिलाहरुलाई अहिलेपनि वाहिरी काम गर्न समस्या रहेको बताइन ।
महिला जनप्रतिनिधिले आफ्नो कामलाई सहज बनाउन पुरुष जनप्रतिनिधिहरुलाई पनि परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री थापाले महिलाहरुको सामाजिक र आर्थिक परिवर्तन जरुरी रहेको पनि बताइन ।
स्थानीय जनतासंग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने महिला जनप्रतिनिधिलाई अहिले संघर्ष र चुनौति दुवै रहेकोले यसलाई अवसरको रुपमा सदुपयोग गर्न पनि मन्त्री थापाले महिला जनप्रतिनिधिलाई आग्रह गरीन ।
‘स्थानीय निकायमा लैंिगक समानता, वर्तमान अवस्था र चुनौति’ विषयक कार्यक्रममा गैरसरकारी संस्था महासंघकी अध्यक्ष एवम् जागरण मिडिया सेन्टरकी संस्थापक शर्मिला कार्कीले पुरुषको जनप्रतिनिधिको तुलनामा महिला जनप्रतिनिधिलाई आफुले जितेको स्थानीय निकायमा काम गर्न निकै कठिनाई रहेको बताइन ।
‘घरपरिवार, केटाकेटी, समाज, पार्टी हुँदै स्थानीय तहसमेतको काम सम्हाल्नु महिला जनप्रतिनिधिको लागि सानो चुनौतिको विषय होइन’— उनले भनीन ।
कार्यक्रममा महिला कानून तथा विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपालको संविधानले लैंगिक आधारमा महिलालाई भेदभाव नगरेको बताए भने काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खडगीले राजधानीकै जनप्रतिनिधिलाई काम गर्न चुनौति रहेको उल्लेख गर्दै ग्रामिण क्षेत्रका जनप्रतिनिधिलाई झनै समस्या रहेको बताइन ।
दिदीवहिनी संस्थाकी अध्यक्ष सलोनी सिंह तथा शरु जोशी श्रेष्ठले महिला जनप्रतिनिधिका समस्या र समाधानका उपाय बताएका थिए ।