भक्तपुर ।
विश्व रेडक्रस दिवसको पूर्वसन्ध्यामा सोमबार भक्तपुरमा महिलाहरुले मात्रै रक्तदान गरेका छन् ।
रक्तदान गर्न चाहने महिलाहरुलाई नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले उक्त व्यवस्था गरेको हो ।
भक्तपुर रेडक्रस प्रांगणमा भएको रक्तदानमा ६० जना महिलाले रगत दिएको जिल्ला शाखा सभापति मनोजकुमार थापाले जानकारी दिए ।
उनका अनुसार रेडक्रसमा आवद्ध महिला स्वयम्सेवक, जिल्ला शाखा र उपशाखामा रहेका पदाधिकारी, आजीवन र साधारण सदस्यसँगै महिला कर्मचारीहरुले रक्तदान गरेका छन् ।
जिल्ला सभापति थापाले महिलाहरुलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले महिलाहरुको मात्रै रक्तदान गरिएको बताए ।
भक्तपुर रेडक्रसले यसै वर्ष आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउँदै छ । भक्तपुर रेडक्रसको स्वर्ण जयन्तीको अवसरमा रेडक्रसमा बढीभन्दा बढी महिलाहरुको सदस्य बढाउन पनि उक्त कार्यक्रम गरिएको भक्तपुर रेडक्रसका मन्त्री परशुराम पाण्डे बताउँछन् ।
उनले स्वर्ण जयन्तीको अवसरमा प्रत्येक महिना एउटा न एउटा कार्यक्रम गरिने जानकारी दिए ।