सार्क क्षयरोग केन्द्र मर्मतका लागि सरकारसंग ४ करोड माग

1921

स्वास्थ्य सचिव पुष्पा चौधरीसंग मिलोमतोको आशंका

बलराम प्यासी

काठमाडौं ।

२०७२ बैशाख १२ र २९ को भूकम्पमा परि भवन ‘क्षति भएको’ भन्दै कुनै क्षति नै नभएको भवन ‘मर्मतको लागि’ भन्दै सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्र थिमीका निर्देशक डा.आरपि विच्छाले सरकारसंग करीव पौने ४ करोड रुपैयाँ माग गरेका छन् ।

यसका लागि उनले भवनमा ‘क्षति भएको’ नक्कली प्रतिवेदन पेश गर्न लागेको समेत बुझिएको छ । जवकी ७ वर्षअघि बनेको पक्की नयाँभवनमा भूकम्पले कुनैपनि क्षति पुर्याएको छैन भने भूकम्पपछिको अनुगमन गर्ने इन्जिनियरले कुनै क्षति नभएको र बस्न योग्य’ भनेर भवनमा ‘हरियो स्टिकर’ टाँसेको छ ।

स्वास्थ्य मन्त्रालय हुँदै सरकारबाट रकम लिनका लागि निर्देशक विच्छाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरीको ‘ग्रिन सिग्नल’ र थप सहयोग लिएको केन्द्रका कर्मचारी बताउँछन ।

गत महिना स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मकुमारी अर्याल र स्वास्थ्य सचिव डा.चौधरीको उपस्थितिमा सो केन्द्रमा आयोजित एक कार्यक्रममा डा.विच्छाले सरकारसंग पहिलोपल्ट सो रकम माग गरेका थिए ।

नेपाल सरकारको करीव ७ करोड रुपैयाको लागतमा एकतल्ला अन्डरग्राउण्ड समेत गरि केन्द्रको पाँच तल्ले नयाँभवन सातवर्ष अघि (सन् २०११) शहरी विकास तथा भवन निर्माण विभागले बनाई सो केन्द्रलाई हस्तान्तरण गरेको थियो । केन्द्रको उक्त भवन राष्ट्रिय क्षयरोग केन्द्र थिमी परिसरमा बनेको छ ।

नेपाल सरकारको आर्थिक सहयोगमा पहिलो चरणमा सो भवन बनेको र भूकम्पबाट भवनमा क्षति पुगेको भन्दै त्यसको मर्मत सम्भारका लागि निर्देशक विच्छाले सरकारसंग ३ करोड ७१ लाख ३४ हजार ३८३ रुपैया ९७ पैसा माग गरेका हुन ।

७ वर्षअघि बनेको भवनमा भूकम्पले पुर्याएको क्षतिबाट भएको मर्मत तथा सम्भार गर्न र दोस्रो चरण अन्तर्गत भवनमा लिफ्ट, अन्य विद्युतिय उपकरण, जेनेरेटर, वातानुकुलित मेशीन, पानी फिल्टर जडान, वैठक हल मर्मत एवम् पार्किंगक्षेत्र सुधारको लागि भन्दै सो रकम माग गर्न लागिएको हो ।

त्यतिमात्रै नभई सो केन्द्रमा रहेको सुप्रा नेशनल प्रयोगशालाको लागि फर्निचर, कम्प्युटर र अन्य सामाग्री खरीदका लागि भन्दै अर्काे थप ३० लाख रुपैया पनि निर्देशकले सरकारसंग माग गर्न लागेका छन् । त्यतिमात्रै नभई केन्द्रको लागि थप नयाँ गाडी खरीदको लागि समेत निर्देशक विच्छाले सरकारसंग बजेटको माग गर्दै आएका छन् । जवकी केन्द्रमा २ वटा जापानी ल्याण्डक्रुजर र एउटा स्कर्पियो गाडी छँदैछ ।

सरकारसंग सो रकम माग गर्नु अघि डा.विच्छाले शहरी विकास तथा भौतिक योजना मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग र स्वास्थय मन्त्रालयका केही कर्मचारीसंग मिलेर भवनमा भूकम्पको क्षतिको नक्कली प्रतिवेदन बनाउन लगाएको बुझिएको छ ।

७ वर्षअघि बनेको सो भवनमा भुकम्पले कँही कतै क्षति नपुर्याएको तथ्य कर्मचारीहरु मात्रै नभई केन्द्रको स्थलगत अवलोकन गर्न जोकोहीले पनि बताउन सक्छ ।

स्वदेश या विदेशका जुनसुकै कार्यक्रममा सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्रबारेको लिखित कार्यपत्र प्रस्तुत गर्दै निर्देशक डा.विच्छाले हरेक ठाउँमा नेपाल सरकारसंग सो रकम माग्दै आएको तर सरकारले सहयोग नगरेको बताउँदै आएका छन् ।

सार्क क्षयरोग केन्द्रको वार्षिक वजेट करीव ९ करोड रुपैया रहेको छ । जुन रकम सदस्य ८ वटा मुलुकमा क्षयरोग तथा एचआइभि सम्वन्धि विभिन्न तालीम, अनुसन्धान, गोष्ठी तथा सेमिनारमा खर्च हुँदै आएको छ ।