चौथो ज्याम्बोरीको योजनासहित तेस्रो ज्याम्बोरी सम्पन्न

1061

 

६ जनालाई ‘सुनौलो गैंडा’ प्रदान

बलराम प्यासी

काठमाडौं ।

२०८० सालमा चौथो राष्ट्रिय ज्याम्बोरी आयोजना गर्ने योजनासहित नुवाकोट ककनीस्थित नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीमस्थलमा आयोजित ५ रात ६ दिने तेस्रो स्काउट ज्याम्बोरी सोमबार सम्पन्न भयो । विद्यालयमा स्काउटिंग ज्ञान लिएका स्काउट विद्यार्थीहरुको महाकुम्भलाई स्काउटको भाषामा ज्याम्बोरी भनिन्छ ।

हरेक ४ । ४ वर्षमा ज्याम्बोरी आयोजना गर्नुपर्ने भएतापनि नेपालमा पहिलो ज्याम्बोरी (२०४३) भएको २६ वर्षपछि दोस्रो (२०६९) र दोस्रो ज्याम्बोरी भएको ६ वर्षपछि तेस्रो (२०७५) ज्याम्बोरी भएको हो ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवम् कृयाकलाप उपसमितिका संयोजक दिपेश केसीका अनुसार ज्याम्बोरीमा साहसिक, मनोरञ्जनात्मक समेत गरी ४० वटा विभिन्न थरीका स्काउटिंग कृयाकलाप समावेश गरिएको थियो ।

सो ज्याम्बोरीमा ७ प्रदेशका ४४ जिल्ला र दैनिक अवलोकन भ्रमणमा आएका स्काउटसमेत गरि ५ हजार ५०० स्काउट सहभागी थिए । यसका साथै भारत, बंगलादेश, भुटान, श्रीलंका, मादिभ्स र लक्जम्वर्गका स्काउटको समेत ज्याम्बोरीमा सहभागिता नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका प्रवन्धक केशव वोहोराले बताए ।

१६ जेठदेखि आयोजित ज्याम्बोरी समापनका अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल स्काउटमा विशिष्ट योगदान गरेका ६ जना वरिष्ठ स्काउट गुरुहरुलाई नेपाल स्काउटको सर्वाेच्च पदक ‘सुनौंलो गैडा’ प्रदान गरे ।

‘सुनौलो गैंडा’ पाउने वरिष्ठ स्काउट गुरुहरुमा भक्तपुरका रामगोपाल कर्माचार्य, ललितपुरकी पुष्पलता भट्टराई, सुनसरीका बासुदेव भण्डारी र कास्कीका हेरम्व प्रसाद कोइराला छन भने धनुषा जिल्लाका स्काउट गुरु चन्द्रदेवलाल कौशिक र झापाका लालबहादुर क्षेत्रीलाई मरणोपरान्त सो पदक प्रदान गरिएको छ ।

यसैगरि यसवर्षको वसन्त ऋतुमा सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका झापाका स्काउट मास्टर अनिश लुँइटेललाई स्काउट पराक्रम पट्ट पदक पहिलो र ललितपुरका प्रकाशराज पाण्डेलाई स्काउट पराक्रम पट्ट पदक दोस्रो प्रदान गरिएको छ । लुइँटेलले योवर्षसहित २ पटक सगरमाथा आरोहण गरे भने पाण्डेले यो वर्ष पहिलोपटक सगरमाथा आरोहण गरेका हुन ।

यसैगरी १४ जना वरिष्ठ स्काउट गुरुहरुलाई उत्तम सेवा पदक प्रदान गरिएको छ । उत्तम सेवा पदक पाउनेहरुमा बाजुराका जहरसिंह थापा, जाजरकोटका राजु राजा सिंह, दांगका यज्ञबहादुर सिंह ओली, डोटीका सुवर्ण श्रेष्ठ, सुर्खेतका खडानन्द शर्मा, अछामका चन्द्रमणी भाट, नवलपरासीका मणीराम गुरुंग, चितवनका तीर्थराज न्यौपाने, काठमाडौंका आनन्दप्रसाद खतिवडा र रविलोचन लामिछाने, मकवानपुरका उद्धवप्रसाद उप्रेती, रौतहटका विजयकिशोर झा, सप्तरीका भोगेन्द्र झा र उदयपुरका रामभक्त यादव छन ।

समापन समारोहमा बोल्दै मन्त्री ज्ञवालीले पछिल्लो समयमा वालवालिका उच्छृंखल हुँदै गएको मात्रै नभई उनीहरुमा अनुशासन, आदर सत्कारभाव र संस्कारको कमी हुँदै आएको अवस्थामा स्काउट शिक्षाको महत्व बढेको बतँए । उनले यस्तो अवस्थामा विद्यालयमा मात्रै नभई समाजमा पनि तल्लोतहदेखिनै स्काउटिंग कृयाकलाप विस्तार गर्न जोड दिँदै सरकारले पनि स्काउटको विकास र विस्तारमा चासो दिएको बताए ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिक तथा सदस्य शिवकुमार पौडेलले तेस्रो ज्याम्बोरीका विविध पक्षबारे जानकारी दिँदै ज्याम्बोरी सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।