काठमाडौं ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ २४ असार आइतबार प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ सञ्चालन गर्न लागिएको छ ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ नारालाई परिपूर्ति गर्न प्राविधिक शिक्षाको विकास र विस्तार गरी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न अपिल गर्ने उद्धेश्यले पहिलोपटक सो अभियान शुरु गर्न लागिएको हो ।
माध्यमिक शिक्षा परिक्षा एसईई उतिर्ण गरि छोटो अवधिको प्राविधिक शिक्षाको खोजीमा रहेका विद्यार्थीलाई आर्कषण गर्नु अभियानको उद्धेश्य रहेको बताइएको छ ।
सो अभियान सञ्चालन गर्ने विषयमा राजधानीमा प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका सदस्य सचिव पुष्परमण वाग्ले, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय अध्यक्ष कश्यप पौडेल, नीजि प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष शैलेन्द्रमोहन झा, केन्द्रीय उपाध्यक्ष रामप्रसाद पौडेल लगायत नीजि प्राविधिक शिक्षालय सञ्चालहरुबीच एक छलफल कार्यक्रमको आयोजना गरियो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आयोजना तथा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र नीजि प्राविधिक शिक्षालय महासंघको सहभागितामा सो अभियान शुरु गर्न लागिएको फोरमका केन्द्रीय अध्यक्ष कश्यप पौडेलले बताए । फोरममा मुलुकभरीका २ सयभन्दा बढी प्राविधिक शिक्षालय आवद्ध छन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद वहालीको क्रममा आगामी दुईवर्षभित्र प्रत्येक स्थानीय तहमा प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त शिक्षालय स्थापना गरि धेरैभन्दा धेरै विद्यार्थीलाई प्राविधिक शिक्षाको मुल धारमा समाहित गर्ने उदघोषलाई सफल पार्न सो अभियान शुरु गर्न लागिएको बताइएको छ ।
प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्धेश्यले आइतबार विहान राजधानीका सबै प्रविधिक शिक्षालयको सहभागितामा विशाल प्रभातफेरी आयोजना गर्ने र सो अभियानबारे जानकारी गराइने फोरमका केन्द्रीय अध्यक्ष पौडेलले बताए ।
कम लगानी र कम समयमा आत्मनिर्भर बन्नसक्ने प्राविधिक शिक्षाप्रति जनचासो बढाउनु अभियानको मूल उद्धेश्य रहेको निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष एवम् भिक्टोरिया टेक्निकल स्कुलका प्राचार्य रामप्रसाद पौडेलले बताएका छन् ।
परिषद अन्तर्गत मुलुकभर सञ्चालनमा रहेका प्रविधिक शिक्षालयले टेक्निकल (टि) एसईईको साथै ३ वर्षे डिप्लोमामा स्वास्थ्य, इन्जिनियरिंग, कृषि तथा वन विज्ञान, पर्यटन, भेटेरीनरी लगायतका दर्जनौं प्राविधक विषयमा १४ असारदेखि शैक्षिक सत्र २०७५।०७६ को लागि भर्ना कार्य शुरु गरिसकेको छ ।