डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा

448

भक्तपुर । धार्मिक तथा पर्यटकियस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भोलि श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३७ दिने श्रावणी मेला लाग्ने भएको छ । उक्त मेलाको लागि आबश्यक तयारी पुरा भैसकेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिए ।
३७ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए ।
यो बर्षको मेलामा २० लाख बढी भक्तजनहरुले मन्दिरमा पुजाआजा गर्नुका साथै दर्शन गर्ने आउने खायोजकले बताएको छ ।
यस मेलामा २ करोड बराबरको रकम संकलन हुने र मेलामा करिब २० लाख रुपैयाँ खर्च हुने समितिको कोषाध्यक्ष विश्वराम थापाले बताए । उनका अनुसार सो रकम गुरुयोजना कार्यान्वयन गर्नमा खर्च गरिने छ ।
भोलि श्रावण १ गते विहान ७ बजे चन्द्रबिनायक मन्दिर सिपाडोलदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३७ दिने मेलाको शुरुवात गरिने छ ।