नर्वे जान लागेका काव्य फुटबल टोलीको विदाई

661

काठमाडौं ।
शनिबारदेखि नर्वेको राजधानी ओस्लोमा आयोजना हुन लागेको नर्वे कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगितामा भाग लिन जान लागेको काव्य स्कुल नयाँबानेश्वरको खेलाडी टोलीलाई बुधबार विदाई गरिएको छ । काव्य स्कुलबाट नर्वे कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता भाग लिएको यो दोस्रो पटक हो । यसअघि गतवर्ष पनि काव्य स्कुल टोली नर्वे गएको थियो ।
नर्वे सरकारको आयोजनामा हुन लागेको ए सेभेन साइड फुटबल प्रतियोगितामा जुनियर फुटबल एशोसियन नेपालको तर्फबाट सो टोली पर्सी (शुक्रबार) विहान नर्वे जाँदैछ ।


जुनियर फुटबल एशोसियसन (जेएफए) का संस्थापक अध्यक्ष तथा काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काको नेतृत्वमा नर्वे जान लागेको सो टोलीमा सो एशोसियसनका प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री का साथै ८ जना खेलाडी छन । फुटबल खेलाडीहरुमा ओम दाहाल, प्रसुन निरौला, सञ्जय खत्री, विपेश बुढाथोकी, सनुप श्रेष्ठ, क्षिनीत भट्टराई, प्रयुस खड्का र इशान गौतम छन् ।


राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), शिक्षा मन्त्रालयका सहसचिव सुर्यप्रसाद गौतम, काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा तथा निर्देशकहरु प्रेमराज अर्याल र दिलीप थापाले नर्वे जान लागेका खेलाडीहरुलाई टिका र खादा लगायर विदाई गरेका थिए ।
संसारभरका करीव एकसय वटा मुलुकका फुटवल खेलाडीहरुले भाग लिने सो प्रतियोगिताको पहिलो दिन काव्य स्कुल टोलीले नर्वेसंग लिग खेल खेल्ने काव्य स्कुल टोलीका प्रमुख प्रशिक्षक क्षेत्रीले बताएका छन । लिगपछि नकआउट खेल हुनेछ ।


काव्य स्कुलका विद्यार्थीहरुले सो प्रतियेगितामा २ वटा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै ओस्लोमा आयोजना हुने कम्प्युटर तथा शिक्षासम्वन्धी विश्वस्तरीय प्रर्दशनीमा भाग लिने बताइएको छ ।
जुनियर फुटबल एशोसियसनका संस्थापक अध्यक्ष तथा काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काका अनुसार यसअघि काव्य स्कुलका खेलाडीले गतवर्ष नर्वे कपका लागि खेलेका थिए भने त्यसअघिका वर्षमा अमेरिकाको फ्लोरिडा, थाइल्याण्डको बैंकक र ताइवानमा जुनियर फुटबल खेल खेलेका थिए ।