आफ्ना मान्छे पोस्न बनिसकेको भवनलाई चाँगुनारायण नगरपालिकाको नौ लाख

6122

भक्तपुर । आफ्ना मान्छे पोस्न नेताले केसम्म गर्छन् ? भन्ने हेर्न चाँगुनारायण नगरपालिका गए हुने भएको छ । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले वडा नं. २ मा बनिसकेको सामुदायिक भवनलाई ९ लाख रुपैयाँ नगरपालिका कोषबाट प्रदान गरेका छन् ।
१ वर्ष पहिला नै निर्माण सम्पन्न भई उद्घाटनसमेत भई सकेको भवनलाई हाल आएर नपाले ९ लाख रुपैयाँ प्रदान गरेको हो ।
तत्कालीन राप्रपा नेपालबाट संविधानसभा सदस्य बनेका दिनेश श्रेष्ठको सांसद विकास कोषबाट ८ लाख रुपैयाँ निकासा भई उक्त भवन निर्माण भएको थियो ।
आफूले दिएको पैसाले भक्तपुरको विभिन्न स्थानमा सामुदायिक भवन निर्माण गरेको तर कुनै पनि भवन निर्माणमा घाटा भने नगएको उनले जानकारी दिए । ‘यदि कहींकतै घाटा नै भएको भए आफू मन्त्री हुँदा नै यो समस्याको समाधान हुने थियो नि हाल आएर नगरपालिकाले नै पैसा निकासा दिनुपर्ने गरी कुनै पनि भवन बनाउँदा घाटा भएको छैन ।’ पूर्वमन्त्री श्रेष्ठ बताउँछन् ।
मेयर स्वयंको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको उक्त सामुदायिक भवन बनाउनका लागि मनोज केसीको अध्यक्षता उपभोक्ता समिति गठन गरिएको थियो । उपभोक्ता समिति अध्यक्ष केसी चाँगुनारायण नगरपालिका वडा नं. २ बाट तात्कालीन नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार समेत थिए ।
सांसद विकास कोषबाट निर्माण भई कार्यसम्पादनमा समेत आई सकेको भवनलाई आफ्नो कार्यकर्ता घाटामा गए भनी पुनः मूल्याङ्कन गराई ९ लाख रुपैयाँ निकासा दिनु कहीं नभएको जात्रा भक्तपुरको चाँगुनारायण नगरपालिकामा भएको सोही वडावासीहरू बताउँछन् ।
केसीमार्फत योजना सम्पन्न गर्ने निर्णय नगर कार्यपालिकाको बहुमतले गरेका कारण निकासा भएको नगरपालिकाका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।


चाँगुनारायाण नगरपालिकामा तत्कालीन एमाले हाल नेकपाको नै बहुमत रहेको छ । १९ सदस्य कार्यपालिकामा १४ जना नेकपाका तर्फबाट रहेका छन् भने एक जना नेमकिपाबाट र अन्य ४ जना नेपाली काङ्ग्रेसबाट रहेका छन् ।
हामीले विरोध गरेका हांै बनिसकेको भवनलाई पैसा दिन मिल्दैन भनेर तर कार्यपालिकामा उनीहरूको बहुमत छ जे गरे पनि भईहाल्यो नि नाम नखुलाउने सर्तमा एक कार्यपालिका सदस्यले बताए ।
योजनाभन्दा बढी पैसा लागेको भन्दै मनोज केसीले गत फागुनमा नगरपालिकामा रकम माग गरेका थिए । यसै आधारमा नगरपालिकाले रकम त दियो तर संविधानसभा सदस्यको सांसद विकास कोषको पैसाले निर्माण भएको भवन अर्थात् स्थानीय निकाय आउनुभन्दा पहिला नै निर्माण सम्पन्न भई कार्य सम्पादन गर्दै आएको भवनमा हाल आएर हालका अनुसार मूल्याङ्कन गरी रकम निकासा गर्नु जनप्रतिनिधिको लापरबाही र नीतिगत भ्रष्टाचार भएको स्थानीय बताउँछन् । फैटोका फसिन्टार सामुदायिक भवन नामाकरण गरिएको उक्त भवन २०७४ असोज ६ गते मेयर आफैले उद्घाटन गरेका थिए ।मजदुर दैनिक