मकवानपुर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ ३ नम्बर प्रदेशले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्रालयमा समेत ज्ञापन पत्र बुझाएको छ । शिक्षा क्षेत्रको गुणस्तर र स्तरोन्नती लगाएतका विभिन्न विषयको माग सहित आज मुख्यमन्त्रीको कार्यालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापनपत्रमा सामुदायिक विद्यालयको व्यवस्थापन समिति चयनमा अभिभावकको प्रतिनिधित्व हुनुपर्ने, विद्यालयको स्तरोन्नती र गुणस्तर सुधारका लागि प्रदेश सरकारले २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने , अविभावकको संलग्नता र प्रतिनिधित्व समितिमा हुनुपर्ने,विद्यालयमा राजनैतिक हस्तक्षेप नभई शान्ति क्षेत्र बनाउन प्रदेश सरकारले मद्धत गर्नुपर्ने, भुकम्पमा परी भत्किएका सामुदायिक विद्ययालयका भवनहरु पुन निर्माणमा प्रदेश सरकारले जोड दिनुपर्ने लगाएतका मागहरु रहेका छन् ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समितिका केन्द्रिय महासचिव गुणराज मोक्तान, सदस्य सारदा प्रसाद चालिसे,विष्णु सापकोटा,प्रदेश महासंघका अध्यक्ष केशव चालिसे,उपाध्यक्ष गेल्मु शेर्पा बुढाथोकी , सचिव संगम लामा , कोषाध्यक्ष मिना उप्रेती, र सदस्यहरु क्रमश पार्वती खड्का, सरस्वती रायमाझी, र रमा उप्रेती लगाएतको उपस्थिति रहेको थियो ।