सिरहा– सिरहाकाे लहानबाट अपहरणमा परेका भनिएका एक चिकित्सकले अपहरणकाे नाटक गरेकाे खुलासा भएकाे छ।
हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादव मंगलबार अज्ञात समूहबाट अपहरणमा परेको सूचना प्रहरीलाई पुगेको थियो। अज्ञात समूहले गाडीमा हालेर अपहरण गरेकाे भनी श्रीमतीले प्रहरीसमक्ष बताएकी थिइन्। तर, यादवलाई म २ प ८२८६ नम्बरकाे मोटरसाइकलसहित गएराति सर्लाहीको नवलपुरबाट उद्धार गरिएको छ।
श्रीमतीसँगको खटपटका कारण अपहरणको नाटक गरेको भन्दै प्रहरीले डाक्टरमाथि अनुसन्धान सुरु गरेकाे छ। अपहरण गर्ने भनिएका प्रेम बमलाई पनि नियन्त्रणमा लिई अनुसन्धान थालिएको सिरहाका एसपी जीवन श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार यादवले सुरुमा अपहरण भने पनि पछि अाफुखुसी माेटरसाइकलमा गएकाे बयान दिएका छन्।