चितवनसम्मै पेट्रोलियम र ग्यासको पाइपलाइन ल्याउन सहमति, चितवनसम्म पाइपलाइन ल्याउन सकिन्छ? :: BIZMANDU

253


                                                              तस्विर:रासस
काठमाडौं।भारतको मोतिहारीदेखि चितवनसम्म ग्यास र  पेट्रोलियम पाइपलाइन विस्तारका लागि नेपाल र भारतका वीचमा सहमति भएको छ।

शुक्रबार नेपाल र भारतका वीचमा भएको मन्त्रीस्तरीय छलफलमा  पेट्रोलियम र एलपीजी ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति भएको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच भएको छलफलमा यो सहमति भएको हो।

नेपाल आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्न सम्भव भएको प्रारम्भिक सर्वेक्षणले देखाएको थियो। इन्डियन आयल कर्पोरेशन(आइओसी)ले केही महिना अघि यो सर्वेक्षण गरेको थियो।

भारतीय पेट्रोलियममन्त्री प्रधानले अमलेखगंज-मोतिहारी पाइपलाइनको निरीक्षण र समसामयिक विषयमा छलफल गर्नका लागि शुक्रबार नेपाल आएका छन्। अहिले मोतीहारीदेखि अमलेखगंजसम्म करिव ७०  किलोमिटर पेट्रोलियम पाइपलाइनको काम धमाधम भइरहेको छ।आयोजनाका अनुसार ५ महिनामा पाइपलाइन तयार हुनेछ।

यही पाइपलाइनलार्इ थप विस्तार गरेर चितवन ल्याउन लागिएको हो । खाना पकाउने एलपीजी ग्यासको अर्को पाइपलाइन मोतिहारीदेखि चितवनसम्म विस्तार गरिनेछ।निगमका अनुसार अहिले मुज्जफरपुरसम्म इण्डियन आयल कर्पोरेशनले ग्यासको पाइपलाइन निर्माण भइसकेको छ। सोही ठाउँबाट मोतीहारी हुनै अमलेखगंज भएर चितवनसम्म पाइपलाइन आउनेछ।

भारतीय पेट्रोलियम मन्त्री प्रधानले मोतिहारी-अमलेखगंज पाइपलाइनको काम तीव्र गति भएकोमा खुसी व्यक्त गर्दै नेपालमा ग्यास पनि पाइपलाइनबाटै आउने बताए।उनले दुर्इ देशका अधिकारीले प्राविधिक पक्ष टुंग्याएर पाइपलाइनको काम अघि बढाउने बताए।

वाणिज्य मन्त्री यादबले ग्यास पनि पाइपलार्इनबाट ल्याउन सम्भव भएकाले आवश्यक प्रक्रिया मिलाएर अघि बढ्ने जानकारी दिए।पाइपलाइनबाट ग्यास र पेट्रोलियम पदार्थ ल्याउँदा ढुवानी भाडा घट्छ।विभिन्न बन्द, हड्तालमा समेत पाइपलाइनलार्इ कुनै असर गर्दैन्।अझ पाइपलाइन निर्माण भएमा नेपाललार्इ देखाएर नाकाबन्दी गर्न समेत कठिन हुन्छ।संविधान जारी भएका बेलामा भारतले मधेशकै आन्दोलनलार्इ देखाएर आफूले नाकाबन्दी नगरेको भन्दै पन्छिने गरेको थियो।
 




चितवनसम्मै पेट्रोलियम र ग्यासको पाइपलाइन ल्याउन सहमति, चितवनसम्म पाइपलाइन ल्याउन सकिन्छ? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link