काठमाडौं– सन् २०१८ को ७ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने अन्तर्राष्ट्रिय र आन्तरिक यात्रुको संख्या १४ प्रतिशतले बढेको छ। सन् २०१८ को जनवरीदेखि जुलाईसम्ममा मात्रै ३९ लाख ७६ हजार ८ सय ११ जना यात्रुले काठमाडौं विमानस्थल हुँदै हवाई यात्रा गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले जनाएको छ।
तर, यो संख्या सन् २०१७ को यसै अवधिमा ३४ लाख २८ हजार ७ सय ९५ मात्रै थियो। सन् २०१७ को तुलनामा सन् २०१८ को सात महिनामै ५ लाख ४८ हजार १६ जना बढी यात्रुले हवाई यात्रा गरिसकेका छन्।
अन्तर्राष्ट्रियतर्फ १२ प्रतिशत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिने र बाहिरिने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा पनि १२ प्रतिशतले बढेको छ। विमानस्थल अध्यागमन कार्यालयका अनुसार सन् २०१८ को जनवरीदेखि जुलाईसम्ममा मात्रै २४ लाख ४९ हजार ६ सय ५९ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरिसकेका छन्। तर, यो संख्या सन् २०१७ को जनवरीदेखि जुलाईसम्म २१ लाख ४५ हजार ७ सय ६५ मात्रै थियो।

कार्यालयका अनुसार यसै अवधिमा हवाइजहाज मार्फत नेपालबाट विभिन्न देश जाने यात्रुको संख्या भने १२ लाख ४३ हजार ७ सय ५७ छ। यसैगरी विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने हवाई यात्रुको संख्या भने १२ लाख ५ हजार ९ सय २ रहेको कार्यालयले जनाएको छ।
आन्तरिकतर्फ १६ प्रतिशत
अन्तर्राष्ट्रिय हवाई यात्रुतर्फ १२ प्रतिशत वृद्धि रहे पनि आन्तरिक उडानतर्फ भने १६ प्रतिशतले हवाई यात्रुको संख्या बढेको छ। सन् २०१८ को जनवरीदेखि जुलाइसम्ममा मात्रै १५ लाख २७ हजार १ सय ५२ जनाले यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। तर, यो संख्या सन्२०१७ को यसैअवधिमा १२ लाख ८३ हजार ३० मात्रै थियो।

सन् २०१८ को ७ महिना कै अवधिमा एयरलाइन्स कम्पनीका विमान मार्फत देशका विभिन्न गन्तव्यमा जाने हवाई यात्रुको संख्या भने ७ लाख ८७ हजार ५ सय ६३ रहेको छ। साथै देशका विभिन्न विमानस्थलबाट काठमाडौं विमानस्थल आउने यात्रुको संख्या भने ७ लाख ३९ हजार ५ सय ८९ रहेको विमाानस्थल कार्यालयले जनाएको छ।
हवाई मुभमेन्ट बढ्दो
आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रु बढेसँगै हवाई मुभमेन्ट पनि बढेको छ। सन् २०१८ को सात महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विश्वका विभिन्न देश जाने/आउने तथा आन्तरिकतर्फ पनि देश भित्रै विभिन्न ठाउँमा जाने/आउने विमानको संख्यामा ४ प्रतिशतभन्दा बढी रहेको छ।
सन् २०१८ को जनवरीदेखि जुलाईसम्ममा काठमाडौं विमानस्थबाट मात्रै ७१ हजार ७ सय २९ वटा उडान तथा अवतरण भएको छ। यो संख्या सन् २०१७ को सात महिनामा ६८ हजार ८ सय १८ मात्रै थियो।

सन् २०१८ को पहिलो सात महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न देशमा भएको प्रस्थान र अवतरणको संख्या मात्रै १९ हजार ५ सय ३३ रहेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। जसमा नेपालबाट प्रस्थान हुने उडान संख्या ९७ सय ६७ रहेको छ भने काठमाडौं विमानस्थलका अवतरण भएको फ्लाइट संख्या ९७ सय ६६ रहेको छ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देशका विभिन्न स्थानमा भएको उडान तथा अवरतणको संख्या ५२ हजार १ सय ९६ छ। जसमा काठमाडौंबाट बाहिर उडान भएको फ्लाइट संख्या २६ हजार एक सय ४ छ भने बाहिरबाट काठमाडौं विमानस्थल आउने फ्लाइट संख्या २६ हजार ९२ वटा रहेको छ।
जति धेरै उडान बढ्दै गएको छ त्यही अनुपातमा विमानस्थल स्तरोन्नति हुन नसक्दा विमानस्थलको व्यवस्थापनमा असहज अवस्था सिर्जना भएको क्षेत्री बताउँछन्। मौसम प्रतिकुलता र पार्किङ वे समस्याका कारण कतिपय अवस्थामा जहाजलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था पनि सिर्जना हुने विमानस्थल कार्यालयको भनाइ छ।








































