एम्नेष्टी इन्टरनेशनलको अध्यक्षमा भक्तपुरका ढुकुछु चयन

296

भक्तपुर । विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालमा नयाँ नेतृत्व चयन भएको छ ।
चितवनको टाँडीमा सम्पन्न सो संस्थाको २७ औं वार्षिक साधारण सभा एवं राष्ट्रिय परिषद् बैठकबाट अध्यक्षमा भक्तपुरका विक्रम ढुकुछु चुनिएका छन् । अध्यक्ष ढुकुछु चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङका स्थायी वासिन्दा हुन् । आगामी दुई वर्षका लागि बनेको नयाँ समितिको अध्यक्षमा चुनिएका उनी छालिङस्थित साइनिङ इंग्लिस स्कुलका सञ्चालकसमेत हुन् ।
आफू अध्यक्ष भएलगत्तै उनले अहिले बढिरहेको महिला हिंसा, मानवअधिकारविरोधी गतिविधिलाई न्यूनीकरणका लागि एम्नेष्टी इन्टरनेशनलले पहल गर्ने बताए । विगत लामोसमयदेखि मानवअधिकार र शिक्षा क्षेत्रमा लागिरहेका ढुकुछुले मानवअधिकार शिक्षाको कारण हिंसा बढिरहेकोले विद्यालय तहदेखि नै सो शिक्षा दिनका लागि आफू लागि पर्ने बताए ।
‘अहिले हत्या, हिंसा, यौनजन्य अपराध, दूव्र्यवहार बढिरहेका छन्, यसको मुख्य कारण यो मानवअधिकार शिक्षाको कमी हो’, नवनिर्वाचित अध्यक्ष ढुकुछुले भने, ‘यसमा न्यूनीकरण गर्ने, नियन्त्रणका लागि विद्यालय तहकै पाठ्यक्रममा मानवअधिकार शिक्षालाई समेट्नु जरुरी छ ।’
उक्त सभाबाट एम्नेष्टी इन्टरनेशनल नेपालको उपाध्यक्षमा प्युठानका पार्वता आचार्य, महासचिवमा कैलाली टीकापुरका कर्णबहादुर कुँवर र उप–महासचिवमा दाङका विपीन बुढाथोकी मनोनित भएका छन् भने कोषाध्यक्षमा बीरगञ्जका सुरेशप्रसाद उपाध्याय निर्वाचित भएका छन् । ढुकुछु र उपाध्याय काठमाडांैका क्रमशः उत्तम सापकोटा र अशोकप्रसाद घिमिरेलाई पछि पार्दै चुनिएका हुन् । अध्यक्ष ढुकुछुले ८७ र कोषाध्यक्ष उपाध्यायले ७३ मत ल्याएका हुन् ।
११ सदस्यीय कार्य समितिमा अध्यक्ष, कोषाध्यक्ष र ३ महिलासहित ७ सदस्यको मात्र प्रत्यक्ष निर्वाचन हुन्छ भने २ जना युथ नेटवर्कबाट युवा सदस्यका हैसियतले प्रतिनिधित्व गर्ने गर्छन् ।
उक्त परिषद् बैठकको पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले गरेका थिए भने कार्यक्रममा वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल, हरिहर विरही, कनकमणि दिक्षीत, मानवअधिकारकर्मी चरण प्रसाईं, कपिल श्रेष्ठ र रत्ननगर नगर पालिका प्रमुख लगायत विभिन्न राजनीति दलका प्रतिनिधिहरूले समेत सम्बोधन गरेका थिए ।