नेपाली काँग्रेसबाट २०७४ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सूर्यविनायक गरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका विष्णुराज कार्की, सो नगरपालिकाका छायाँ मेयर हुन्। नगरपालिकाको गतिविधिलाई नजिकबाट नियालीरहेका उनीसँग गरिएको कुराकानीको सार :
जनप्रतिनीधि आएको पनि १६ महिना बितिसकेको छ, तपाइँ यो क्षेत्रको छायाँ मेयर हुनुहुन्छ, यो हिसाबले विगत १६ महिनालाई कसरी मूल्यांकन गर्नुभएको छ ?
१६ महिनाको यो बीचमा हामीले १ वर्ष चाहिँ केही पनि बोलेनौं, मेयर, उपमेयर, वडाध्यक्षहरुले जुनसुकै तरिकाले चलाओस भनेर हामी चुप लागेका बसेका हौं । किनभने स्थानीय स्वायत्तताअन्तर्गत नगरपालिका पनि पहिलोपटक भएको थियो । कुन किसिमले जान्छ भन्ने विषयलाई हामीले हेरेका थियौं, निर्वाचितलाई बुझ्न पनि समय लाग्छ भनेर हामीले एक वर्षसम्म हेरेका थियौं । उनीहरुले जस्तोसुकै कार्ययोजना बनाए पनि हामी नबोली हिँडेका थियौं ।
एक वर्ष सकिएपछि, दोस्रो नगर सभा सकिएपछि हामीले पनि कर, सेवा शुल्कमा अत्यधिक बढेपछि हामीले ज्ञापन पत्र पनि बुझायौं र विस्तारै हामीले विरोध पनि गर्न थालका छौं । मनलाग्दी ढंगले, एकलौटी पाराले काम गर्न थालेपछि हामी तातेका छौं । नगरका योजनाबारेमा हामीसँग कुनै सरसल्लाह गरिएको छैन । म त मेयर बासुदेव थापाको निकटम प्रतिद्वन्द्वी पनि हुँ । तर मलाई उहाँहरुले नगरको कुनै कार्यजना बनाउन पनि, उपभोक्ता समिति बनाउने विषयमा पनि अहिलेसम्म रसल्लाह र सुझाव माग भएको छैन । पार्टीसँग पनि छैन ।
तपाइँ जनप्रतिनीधिहरुका कार्यशैली, काम कारबाहीबाट सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ? तपाइँ त पार्टीगत रुपमा मात्र नभएर एक नगरवासी पनि हुनुहुन्छ ।
अहिले सन्तुष्ट हुने बाटै बनाएको छैन । जहाँ विकास गर्ने भने, उपभोक्ता समिति भने, आफ्ना मान्छे बसे, दुईजना बसे, ६ लाखको बजेट ३ लाखमा सिध्याए, खाए, त्यसरी विकास निर्माण गरिरहेका छन् । त्यो सँगसँगै हाम्रो जिल्लाकै नेताले ठूलो बजेट ल्याउनुभएको छ रे भन्ने सुनेको छु। नगर विकासको बजेट आउँछ, यही स्थानीय मान्छेसँग सरसल्लाह, समन्वय नगरीकन, आफ्नो पाराले काम भइरहेको छ । अहिले पनि बालकोटमा नगरविकासबाट १ करोड २० लाखको बजेट ल्याएको छ । बजेट ल्याएर जुन पर्खाल लगाएपछि अहिले हिँडिरहेको बाटो पनि हिँड्न नहुने गरी बिजोग भएको छ । यो विषयमा स्थानीय जनप्रतिनीधिसँग सोध्दा हामीसँग समन्वय गरेको छैन, कहाँबाट आएर बजेटले कुन काम गर्यो भन्ने हामीलाई जानकारी छैन भन्छन् ।, त्यसले गर्दा नगरपालिकाको मेयरले बजेट कसरी आयो र कहाँ लगाउनुपर्छ, आफ्नो नगरको कुरा त आफूलाई थाहा हुनुपर्ने ? त्यो पनि जानकारी नदिइकन काम गरिरहेका छन् । यसले गर्दा बजेट सकाउने काम भन्दा अरु केही पनि भएको छैन ।
बजेट सकाउने भन्दा पनि विकासको कुरा हैन र तपाइँले त सिधै विरोध गर्नुभयो ?
हैन, विकास निर्माण कसरी गर्ने भन्ने कुरामा निर्भर हुन्छ । त्यो विकास गर्दा, पर्खाल लगाउँदा, बाटो बनाउँदा नराम्रो भनेको हैन । पहिला पर्खाल लगाउने हो कि, बाटो बनाउने हो कि, ढल हाल्ने हो कि ? खानेपानी खुवाउने हो कि ? कार्ययोजना र कार्यदिशा बनाएर विकास गर्नुपर्यो । अहिले जताततै ढलान गरिरहेका छन् । सूर्यविनायक नगरपालिकाले ८ फिटे, १० फिटे बाटोमा ढलान गरिरहेका छन् । त्यो ढलान भनेको त भोलि ढल हाल्नुपर्छ, नगरपालिकाले ढलको व्यवस्था त गर्नुपर्यो । त्यो ढलान फेरि फोर्नुपर्यो कि परेन ? यसको अर्थ के हो ?
भनेपछि यो नपामा भइरहेका विकास निर्माणहरु दीर्घकालीन सोचले आएका हैनन् भन्न खोज्नुभएको हो ?
त्यो भन्दा पनि बजेट सकाउने कार्य मात्र भएको छ भन्ने कुरामा म शतप्रतिशत ढुक्क छु। यही नगरपालिकाको ५ नं. वडामा लगभग १ करोडको बजेटमा ८० लाख त ढलानलाई मात्र छुट्याएको छ । त्यसको अर्थ के हो ? ढलै नभएको बाटो ढलान गर्नुको अर्थ के ? भोलि त ढल हाल्नुपर्छ, खानेपानीको पाइप हाल्नुपर्छ ? त्यो बेला भत्काउने कि ? नभत्काउने ? यत्ति पनि सोच नराख्नुको मतलब के दीर्घकालीन छ ? दीर्घकालीन योजना नै छैन, कसरी हुन सकिन्छ सन्तुष्ट ? यतिमात्र हो र नगरपालिकाले सरोकारवालाहरुसँग कुनै सम्पर्क नै गरेका छैनन् । कुनै सुझाव नै लिएका छैनन् । अस्ति भर्खरै बालकोटमा मिडियामा हेर्नुभयो होला, हाम्रो उपमेयरजीका श्रीमान्ले नै फोटो खिचेर यो कसले खायो भनेर फोटो हाल्नुभएको थियो । त्यसरी खाइरहेको अवस्था छ । त्यो त उदाहरण मात्र हो ।
स्थानीय निकायले त्यो विषयमा जिम्मेवारी नै लिँदैन ? भनेपछि विकास निर्माणको नाममा चलखेल भइरहेको
छ भन्नुभएको हो ?
एकदमै हो, यहाँ विकास देखाउने अनि बजेट कुम्ल्याउने कुरा भइरहेको छ ।
जनतालाई सहुलियत दिने नाममा १३ वटा शीर्षकका कर त निःशुल्क गरेका छौं भनेर मेयर, वडाध्यक्षहरु भनिरहेका छन्, तपाइँहरु चाहिँ कर बढ्यो भनेर भनिरहनुभएको छ, आन्दोलन पनि गरिरहुनुभएको छ, के यो कुरा विरोधाभाषपूर्ण भएन र ?
होइन, राज्यले निःशुल्क १३ वटा विषयमा त कर छुटै दिएको छ । नेपालको संविधानले दिएको ती विषयमा समेत पहिला कर लिएको प्रमाण हामीसँग छ । पहिला लिइसकेको र पछि पुरानो मिति राखेर सच्याएको प्रमाण हामीसँग अहिले पनि सुरक्षित छ । हामीले त्यो विषयलाई त उठाएकै छैनौं । विकासको लागि कलकारखाना चाहिन्छ, कलकारखाना
राखेपछि कमाएपछि कर तिर्ने हो, कर तिर्ने भनेको आम्दानी भएपछि हो, त्यो कलकारखाना स्थापना गर्न कति कर तिर्नुपर्छ ? कर त लिनुपर्छ नगरपालिकाले, कर लिनुपर्दैन र लिनु हुन्न भनेर हामी भन्दैनौं, सेवा शुल्क चाहिँ कम हुनुपर्यो भन्ने हो । कर त सुखले तिर्नुपर्ने हो तर यहाँ त बाध्यताले कर तिर्नुपर्छ भनेको छ । अब त जग्गै बेचेर कर तिर्नुपर्ने भयो । अझ, यिनीहरुले त एकीकृत सम्पत्ति कर लिएको छ । यो करलाई राज्यले नै निस्तेज गरेको छ । एकीकृत कर लिन पाइँदैन भनेको छ ।उनीहरुले चाहिँ एकीकृत कर भनेर लिइरहेको छ । आजको दिनसम्म पनि बिल प्रिन्ट गरेर, एकीकृत सम्पत्ती करलाई केरेर कर लिइरहेको छ । करको विषयमा त अझ हामीले बोलेकै छैनौं । कर बढ्यो भनेर हामीले भनेका छैनौं, सेवा शुल्क बढायो भनेर भनिरहेका छौं । कमाएपछि कर तिर्नु ठूलो कुरा हैन, पहिला कर तिर्ने वातावरण बनाउनुपर्यो ।
वडाध्यक्षदेखि मेयरसम्म त विरोधीहरुले स्याल हुइँया गर्यो भन्ने आरोप लगाइरहेका छन् नि ?
हामीले यो विषय यत्तिक्कै, हावाभरमा दिएका हैनौं, हामीले कुन कुन विषयमा कतिले कर बढ्यो ? भन्ने विषयमा हिजो र आजको तुलना गरी लिखित रुपमै पत्र दिएका छौं । नेपाल सरकारले कृषि क्षेत्रलाई सबै क्षेत्रमा अनुदान दिनुपर्छ भनेर भनेको छ तर नगरपालिकामा कृषि फर्म दर्ता गर्न पैसा तिर्नुपर्छ, कृषिजन्य उत्पादनको कर तिर्ने कि नतिर्ने ? कृषि फर्म
दर्ता गर्न कर लिन मिल्छ ? निःशुल्क गर्ने, अनुदान दिने भनेको ठाउँमा करै लगाएपछि के हुन्छ ?
यतिमात्र हैन, एउटा निजी स्कुलले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ भनेको छ । त्यो हटाउने षड्यन्त्र भइरहेको छ । स्कुलबाट पैसा लिएका छन् । १० प्रतिशत विद्यार्थी बराबरको पैसा ले भनेर भनेको छ । क, ख, ग, घ भनेर स्कुलको वर्गीकरण गरेको छ । क ले एकलाख तिर्छ । अहिले हाम्रो क्षेत्रमा काठमाडौं वल्र्ड स्कुल छ, त्यो एकदमै महंगो स्कुल
हो । त्यहाँ एक जना विद्यार्थी पढ्न लगभग ४÷५ लाख चाहिन्छ वार्षिक । यसले पनि एकलाख कर तिर्ने अनि हाम्रो ५ सय रुपियाँ महिनामा तिर्ने स्कुलसँग ५० हजार तिराउन मिल्छ ? त्यो मैले त्यो स्कुलले केही एक डेढसय विद्यार्थिलाई निःशुल्क पढाइदिएको भए के राम्रो हुने थिएन । त्यसो नगरी कन नगरपालिकाले आफ्ना कार्यकर्ता पोस्न रकम लिएको छ ।
राम्रो कुरा र काम नगरपालिकाले नगरेकै हो त ?
राम्रो गरेको देखेकै छैन । वर्षा सकिएपछि देखिन्छ कि ? बर्षा सकेपछि हिँउद लाग्छ, हिउँद लागेपछि हिलो देखिँदैन, त्यो बेला देखिन्छ कि । नगरपालिकाले यो चाहिँ राम्रो काम गर्यो भन्न लायकको काम गरेको देखिँदैन । नगरपालिकामा फोहोर मैले व्यवस्थापन गर्न भनी दुईटा गाडी छ । त्यो गाडी मेरो घरतिर फोहोरमैला उठाउन आएको देखेको छैन ।
त्यो गाडीमा घाँस उम्रिसकेको नगरपालिकामा फोहोर मैले व्यवस्थापन गर्न भनी दुईटा गाडी छ । त्यो गाडी मेरो घरतिर फोहोरमैला उठाउन आएको देखेको छैन । त्यो गाडीमा घाँस उम्रिसकेको छ, त्यसरी गाडी ठन्क्याएर राखिएको छ ।
मेयर निर्वाचित भएको दुईचार महिना नबित्दै स्कोरपियो किनेका छन्, विकासकै पैसाले गाडी किनेका छन्, चढेका छन् प्रत्येकवडाध्यक्षहरुलाई मोटरसाइकल दिएका छन् , जबकि वडाध्यक्षहरुले मोटरसाइकल चलाउन जान्नु हुन्छ कि हुन्न, त्यो मोटरसाइकललाई अर्को ड्राइभर नियुक्ति गर्नुपर्ने होला ।
मैले राम्रो देखेको भनेको मात्र उद्घाटन, शिलान्यास देखेको छु। अर्को कुरा रंगशालाको कुरा पनि आएको छ, भएको त्रिपुरेश्वरको रंगशाला बनाउन सकेको छैन ।
अहिले भक्तपुरको पुर्वी क्षेत्रमा रंगशाला बनाउँछु भन्दै जग्गा अधिग्रहण गर्छु भनेर लागिरहेका छन् । यो हेर्दा, आरोपै त लगाइहालन भएन तर यो कुरामा भूमाफियाहरुको पो हात छ कि जस्तो पनि लाग्छ मलाई । हनुमन्ते करिडोरमा पनि नेकपाका ठूल्ठूला नेताका सेयर लगानी छ रे भन्ने सुन्नमा आएको छ । माननीयज्यूले हनुमन्ते फर्काउनुहुन्न भनेर भाषण गर्नुभएको थियो । अहिले त्यो भाषण कता हरायो ? यो सबै चलखेल बुझिनसक्नुको छ । हामी एक वर्ष त चुप लागेर बस्यौं, हामी विस्तारै खोतल्दै छौं, कहाँबाट के के निस्कने हो ? विस्तारै थाहा हुन्छ ।
एक वर्षसम्म तपाइँहरुले नियाल्नुभयो, पहिला र अहिलेमा चाहिँ के फरक पाउनुभएको छ ?
१६ महिनाको अवधिमा ज्ञापनपत्र बुझाएर दबाब दिएपछि बल्ल एक चरण बुधबार वार्ताका लागि बस्यौं । हामीले नगरको विकासका लागि समग्र र सहकार्य गरी अघि बढौं भन्ने किसिमबाट कुराकानी गरिरहेका छौं ।
बढेको कर नरगपालिकाको विशेष परिषदबाट घटाउँछु सम्म भन्नुभएको छ । वार्ता ठोस निष्र्कस बिना टुङ्गिएको छ । यस्तै भइरह्यो, जनताको इच्छाविपरीतको काम भइरह्यो भने नगरपालिकामा ताला लगाउनेबाहेक दोस्रो विकल्प नहुनु पनि सक्छ ?
त्यतिसारो गर्नुपर्ने अवस्था भयो र ?
किन नहुनु, ६ लाख बजेटको काममा ३ लाखको नि हुन्न, दुई जना विद्यार्थी पढ्छन्, चित्तपोलको एक स्कुलमा, चार जनाको दरबन्दी छ । त्यो के हो ? कार्यकर्ता भर्ती गर्नुभन्दा अरु देखेकै छैन । स्पष्ट रुपमा भन्नुपर्दा नगरपालिकामा कसरी कर्मचारी राखिएका छन् ? केही स्पष्ट छैन । मैले त सुनेको छु, आफ्नै परिवारभित्रका छोरीज्वाइँलाई नि नगरपालिकाले काम दिएको छ ।
त्यसलाई सुधार्नका लागि तपाइँहरुको पनि भूमिका रहन्छ नि हैन र ?
हो, हामीले एक वर्ष हेरेपछि सुधारको लागि सुरु गरेका छौं । जनप्रतिनीधिहरुको एक वर्ष बितेपछि हामीले ज्ञापन पत्र बुझायौं, बुझाएपछि मेयरले सार्वजनिक स्थलबाटै वार्ताका लागि आह्वान गर्नुभयो । हामी पनि आफ्नै तरिकाले लागिरहेका छौं । आफैंले प्राविधि खटाएर नगरपालिकाले गरेका कामहरुको निरीक्षण गरिरहेका छौं । हामी श्वेतपत्रको समेत तयारी गरिरहेका छौं ।
मेयर, उपमेयर, वडाध्यक्षहरुलाई बढी प्रचारमुखी भए पनि भनिन्छ, के यो कुरामा सहमत हुनुहुन्छ ?
मलाई पनि त्यस्तै लाग्छ । असार मसान्तभित्र ९५ प्रतिशत काम सकिसकेँ भनेर भन्नुभएको थियो । त्यो भनेपछि मैले धेरै ठाउँमा निरीक्षण गर्न गएँ । काम चाहिँ कागजी रुपमा भएको देखिन्छ । जहाँ गर्नुपर्ने हो, त्यहाँ चैं भएको छैन ।त्रिपुरा न्यूज साप्ताहिकबाट







































