गाईघाटः उदयपुरको कटारी नगरपालिका–४ की १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले १० वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ।
मंगलबार जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु २ लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो। दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ।
जिल्ला अदालतका नायब सुब्बा कमला निरौलाका अनुसार १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ। १५ वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो।
विसं २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। बालिकाको अभिभावकले दिएके उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो। एक जना अझै फरार रहेका छन्।
तुलसा एक महीनादेखि बेपत्ता
उदयपुरको त्रियुगा नगरपालिका–७ चकलाघटीकी १८ वर्षीया तुलसा पोखरेल एक महीनादेखि बेपत्ता छिन्। अभिभावकका अनुसार गत भदौ २० गते घरबाट कक्षा १२ को फारम भर्न विद्यालय जान्छु भनेर हिँडेकी पोखरेल अहिलेसम्म सम्पर्कमा आएकी छैनन्।
उनको मोबाइलसमेत बन्द रहेकाले आफूहरु चिन्तामा परेको पोखरेलका दाजु पर्शुरामले बताए। सम्पर्कमा नभएका कारण प्रहरीलाई खोजी गर्न अनुरोध गरेको उनले बताए।