नागरिक उड्डयन प्राधिकरण टुक्रयाउने प्रक्रिया सक्न आइकाओको आग्रह, काम भइरहेको मन्त्रीको जवाफ :: BIZMANDU

259


काठमाडौं। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का प्रतिनिधिले नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘अन बण्डलिङ’को काम छिटो सक्न सरकारसँग आग्रह गरेका छन्। नियमनकारी र सेवा प्रदायक दुवैको भूमिकामा रहेको प्राधिकरणलाई छुट्याउने काम छिटो सक्न उनीहरुले आग्रह गरेका हुन्। 

नेपाल भ्रमणमा रहेको आइकाओ, अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा संगठन लगायतका संस्थाका प्रतिनिधिले विहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीसँगको छलफलमा प्राधिकरणको अन बण्डलिङको काम छिटो सक्न सुझाव दिएका हुन्। नियमनकारी र सेवा प्रदायकका रुपमा एउटै संस्थाले काम गर्दा त्यो प्रभावकारी नहुने उनीहरुको तर्क थियो।

उड्डयन क्षेत्रमा काम गर्ने सेवा प्रदायक र त्यही क्षेत्रलाई नियमनत्र गर्ने नियमनकारी निकाय एउटै हुन नहुने भन्दै उनीहरुले विभाजनको लागि काम अघि बढाउन आग्रह गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। 

जवाफमा मन्रीरी अधिकारीले नागरिक उड्डयन प्राधिकरण वियधेकको मस्यौदा तयारीको काम भइरहेको भन्दै नियामक र सेवा प्रदायक अलगअलग हुने बताए। 

असोज ५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालन नियमन सम्बन्धी नयाँ ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरिसकेको छ। प्राधिकरणले गर्दै आएको नियमन र सेवा प्रदायकको कामलाई अलगअलग गर्ने गरी नयाँ ऐन ल्याउन ऐन लागिएको हो। 

मन्त्री अधिकारीले आइकाओकै सहयोगमा कानुनी सुधारका काम अघि बढिरहेको भन्दै यसले छिट्टै मूर्त रुप पाउने पनि जानकारी गराएका छन्। सरकारले करिब ४२ करोड रुपैयाँको हवाई क्षेत्र सुधार कार्यक्रम नै सञ्चालन गरिरहेको छ। 

प्राधिकरणका महानिर्देशक गौतमका अनुसार नेपालमा हवाई सुरक्षाका विषयमा उनीहरुले चासो राखेका थिए। त्यसको जवाफमा मन्त्री अधिकारीले हवाई सुरक्षाको अवस्थामा सुधार हुँदै गएको बताएका थिए। 




नागरिक उड्डयन प्राधिकरण टुक्रयाउने प्रक्रिया सक्न आइकाओको आग्रह, काम भइरहेको मन्त्रीको जवाफ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link