भक्तपुर । दशैं नजिकिँदै गर्दा मूल्यवृद्धिको मारमा थुप्रै उपभोक्ताहरु परेका छन् । खाद्यान्न, लत्ताकपडा, गाडीभाडालगायको भाडा बढेको छ । त्यसले गर्दा सर्वसाधारणलाई दशैं आएको हो कि महंगीको भारी आएको हो भन्ने लागिरहेको छ । हालै मात्र सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले अझ सास्ती भएको उपभोक्ताहरुले प्रतिक्रिया दिन थालेका छन् । सरकार भने अत्यधिक मूल्यवृद्धि
हुँदा पनि त्यसको कुनै अनुगमन गर्ने, निरीक्षण गर्ने र कालाबजारी गर्नेहरुलाई कुनै कारबाही गर्न सकेको छैन ।
जिल्लाका विभिन्न स्थानका उपभोक्ताहरुका अनुसार उपभोग्य वस्तुको भाउ निक्कै बढेको छ ।
उनीहरुले दशैंका लागि चाहिने सामानहरुमा १५देखि ३० प्रतिशतसम्म भाउ बढेको अनुभव गरेका छन् ।
यसैले उनीहरु ठाउँठाउँमा सरकारले नै सुपथ मूल्य पसल सञ्चालन गरी उपभोक्तालाई सहज बनाउनु पर्ने बताउँछन् ।
झौखेलका रवि न्यौपानले भने, ।।।
दशैं लागेकोले हो कि वा अरु नै कारण कुनै पनि सामानको मूल्य छोइसक्नु भएको छैन, चाहिने सबै चीजको भाउ बढेको छ ।’ उनले मंगलबारमात्र एउटा मूल्यको सामान बुधबार निक्कै बढेको बताए ।
उनले मात्र नभएर अहिले बजार आएका अधिकांश उपभोक्ताहरुको एउटै आवाज छ, महंगी बढेको छ । उनीहरुले जुन वस्तुको दैनिक आवश्यकता हुन्छ, त्यही वस्तुको बढी मोल बढेको अनुभव गरेका छन् । ।।।
केही दिनमात्र एक हजारमा आउने सामान समेत दशैंले छोपेपछि १ हजार ४ सयसम्म पुगेको छ, यस्तो भएपछि कसरी किन्ने सामान, कसरी मनाउने
दशैं ?’ प्रतिप्रश्न गर्दै लक्ष्मी बस्ताकोटी भाउ बढ्दा दैनिक ज्यालादारीमा काम गर्नेलाई बढी मार परेको बताउँछिन् ।
भाउ बढेपछि दशैं कसरी मनाउने भन्ने चिन्ता उपभोक्ताहरुले गर्न थालेका छन् । हुने खानेहरुका लागि दशैं र हुँदा खानेहरुका लागि दशाको रुपमा चित्रण हुँदै आएको दशैंको लागि गर्नुपर्ने किनमेलले अझ खल्लो बनाउने हो कि? भन्ने उपभोक्ताहरु
चिन्तामा छन् ।
उनीहरुले सरकारले नै दशैलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सकेको खण्डमा ठूलो राहत मिल्ने पनि अनुभव गरेका छन् ।







































