भक्तपुर : भक्तपुरस्थित जिल्ला सरकारी अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मिलन सुवाल मनोनीत भएका छन्।
सत्तासीन नेकपा (नेकपा) को भक्तपुर जिल्ला सहइन्चार्ज सुवाललाई प्रदेश नम्बर ३ सरकारको सामाजिक विकास मन्त्रालयले सुवाललाई चार वर्षको लागि समितिको अध्यक्षमा मनोनयन गरेको हो।
सुवाल गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ को लागि वाम गठबन्धनका संयुक्त उम्मेदवार हुन्। उक्त क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल विजयी हुँदा उनी तेस्रो स्थानमा रहेका थिए।
मन्त्रालयको मंसिर २८ गतेको निर्णयानुसार अध्यक्षमा मनोनीत सुवाललाई मंगलबार एक कार्यक्रमबीच भक्तपुर अस्पतालमा स्वागत गरिएको छ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले अध्यक्ष सुवाललाई पुष्प गुच्छा, खादा र कालो भादगाउँले टोपी लगाइदिएर अस्पतालमा स्वागत गरेकी हुन्।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको उपस्थितिमा भएको स्वागत कार्यक्रममा नवनियुक्त अध्यक्ष सुवालले सबैसँग सहकार्य गरी अस्पतालको सेवालाई नमुना बनाउने प्रतिबद्धता जनाए।
उनले अस्पतालको सेवालाई नमुना बनाउन सबै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई एकताबद्ध भएर आआफ्नो जिम्मेवारी पूरा गर्न आह्वानसमेत गरे।
जिल्ला समन्वय समितिका प्रमुख गेलालले नवनियुक्त अध्यक्षसामु अवसर र चुनौती दुवै भएको बताउँदै बेलाबेलामा आफै बिरामी पर्दै आएको भक्तपुर अस्पताललाई पुनः बिरामी हुन नदिन ध्यानाकर्षण गरे।
अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत भइसकेका प्रमुख गेलालले अस्पताल प्रशस्त स्रोत र साधनयुक्त भएर पनि व्यवस्थापनमा असफल हुँदै आएको स्पष्ट पारे।
त्यस्तै अस्पताल व्यवस्थापन समितिका अर्का पूर्वअध्यक्ष सुरेश न्यौपानेले केन्द्रीय सरकार मातहत रहेको भक्तपुर अस्पताललाई प्रदेश सरकार मातहत लानु नै पहिलो चुनोती भएको बताए।
कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले अस्पतालको अवस्था धेरै नराम्रो नभएको बताउँदै अध्यक्ष वा मेसु एक्लैले केही गर्न नसक्ने सुनाइन्।
प्रदेश सरकारअन्तर्गत ल्याइएको भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमा अध्यक्षसहित सात जना पदाधिकारी रहने व्यवस्था गरिएको छ। जसअनुसार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सदस्य सचिव रहनेछन्। नयाँ व्यवस्थाअनुसार समितिमा अस्पतालका मेट्रोन र वरिष्ठ चिकित्सक दुई जना सदस्य रहनेछन्।
नवनियुक्त अध्यक्ष सुवालले मंगलबार नै आफ्नो पदभार ग्रहण गरेका छन्।