एकहजार जनालाई निःशुल्क शिपमुलक तालीम दिइने

313

 

रामेछापका ग्रामिण क्षेत्रको विकासमा ‘फ्राड्स’ सक्रिय

काठमाडौ । गैरसरकारी संस्था ग्रामिण क्षेत्रहरुको विकासका लागि मैत्री एवम् मित्रता ‘फ्राड्स’ ले आगामी दुईवर्षमा रामेछापका एकहजारजना युवाहरुलाई निःशुल्क शिपमूलक व्यवसायीक तालीम दिने घोषणा गरेको छ ।

‘फ्राड्स’ रामेछाप जिल्लाको दुर्गम ग्रामिण भेगमा औपचारिक रुपमा विगत १३ वर्ष र अनौपचारिक रुपमा करीव ३० वर्षदेखि काम गर्दै आएको संस्था हो । राजधानीमा सम्पन्न उक्त संस्थाको १३ औं वार्षिक साधारण सभामा संस्थाले हालसम्म शिक्षा, स्वास्थ्य तथा युवा स्वरोजगार कार्यक्रम लगायतलाई जोड दिँदै आएको जानकारी दिइयो ।

संस्थाका महासचिव एवम् श्री श्रमिक शान्ति मावि च्यासल ललितपुरका सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीले साधारणसभामा संस्थाको प्रगती विवरण तथा भावी योजना प्रस्तुत गर्दै सो जानकारी गराउनुभयो ।

महासचिव कार्कीका अनुसार गतवर्षपनि धेरै युवाहरुलाई आवश्यकतामा आधारित निशुल्क स्वरोजगारमूलक तथा शिपमुलक व्यवसायीक तालीम दिइएको उल्लेख गर्दै आगामी वर्ष २०१९ देखि स्वरोजगारमूलक र शिपमुलक व्यवसायीक तालीममा बढी जोड दिने बताउनुभयो ।

उहाँका अनुसार संस्थाले विगतदेखि नै स्किल नेपाल, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद र दातृ निकायसंग मिलेर युवायुवतीहरुलाई सिलाईकटाई, इलेक्ट्रिसियन, ब्युटिसियन,मोवाइल मर्मत र कम्प्युटर मर्मत जस्ता शिपमुलक व्यवसायीक तालीम दिँदै आएको छ ।

पछिल्लो समय युवाहरु कुनैपनि शिपमूलक तालीम विना विदेश जाने गरेको र जिल्लामै बसेता पनि सानोतिनो रोजगारीमा अल्झिने गरेको अनुभवलाई अध्ययन गरि संस्थाले निशुल्क शिपमुलक तालीम दिएर युवा स्वरोजगार कार्यक्रमलाई जोड दिएको महासचिव कार्कीले बताउनुभयो ।

संस्थाले गरीव तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा सहयोग कार्यक्रम, विद्यालयको स्तोरन्नतिका लागि विद्यालय सहयोग कार्यक्रम, स्वास्थ्य चौकी सहयोग कार्यक्रम, परिवार वीहिन वालवालिकाका लागि वालगृह निर्माण तथा सहयोग कार्यक्रम र निशुल्क शिपमूलक तालीमका कार्यक्रम सञ्चालन गर्दै आएको र यी कार्यलाई भविष्यमा पनि निरन्तरता दिइने बताउनुभयो ।

१३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष एवम् नेपाल प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले अन्यत्रको तुलनामा रामेछापका ग्रामिण क्षेत्रमा वालवालिका र युवाहरुका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको आवश्यकता भएकोले नै संस्थाले तीनै विषयमा काम गर्दै आएको बताउनुभयो ।

संस्थाका अध्यक्ष खिम्मक विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष दावा शेर्पाले संस्थाको गतिविधि तथा भावी योजना र कोषाध्यक्ष पेम्वाकाजी शेर्पाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सदस्य राजेन्द्र बस्नेत, भावना कार्की, हिमाली वालगृह उमाकुण्डका अध्यक्ष तिर्थ कार्की, भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भरत कार्की लगायतले संस्थाले गर्दै आएका गतिविधिबारे आआफ्ना विचार राख्नुभएको थियो ।

सो संस्थालाई जर्मन दातृ निकायले सहयोग गर्दै आएको छ ।