कस्तो संयोग यो मृत्युको ? श्रीमानको मृत्युकोे १० घण्टापछि श्रीमतीको मृत्यु

1798

बलराम प्यासी

काठमाडौं। जन्मपछि मृत्यु निश्चित छ, यो ध्रुवसत्य हो । कोही पनि मानिस अजम्वरी छ्रैन । जन्मेकै दिनमा उसको मृत्युको दिन पनि तोकेर आएको हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।

प्राकृतिक विपत्ति या सवारी दुर्घटनामा बाहेक कहिलेकाँही हुने गरेका व्यक्तिको मृत्युका संयोगहरु अचम्मका भेटिन्छन ।

यस्तै भयो पुस २४ गते मंगलबार । त्यसदिन बुद्धनगर, नयाँबानेश्वरका शर्मा परिवारमा एउटा दुःखद र वियोगान्त घटना घट्यो । त्यो घटना नमिठो र चीरकालसम्म झक्झकाइरहने वियोगान्त संयोग बन्न पुग्यो । अझ भनौं शर्मा परिवारलाई मंगलबार ठुलो बज्रपात पर्यो ।

सोमबार राती परिवारका सबै सदस्यहरुसंग संगै बसेर रमाइलो गरि खाना खाएर सुतेका ८५ वर्षिय रामगोविन्द शर्मालाई राती १ बजेतिर एक्कासी अपठ्रो भएको महसुस भएपछि उनका छोराहरु महेश र उमेशले उनलाई तत्कालै नजिकको एभरेस्ट हस्पिटल पुर्याए । अस्पतालको आकस्मिक कक्षमा उपचार हुँदाहुँदै उपचारमा संलग्न चिकित्सकले भने ‘सरी, उहाँ अस्पताल आइपुग्नुअघि नै बितिसक्नुभएछ ।’

८५ वर्षको उमेरसम्म कुनै रोग नलागेका निरोगी शर्मा, सोमबारसम्म सबैसंग हँसमुख, बोलचाल गर्थे । विरामी भएर कहिल्यै थला परेनन । उनी सक्रिय जीवन बिताइरहेका थिए ।

आफ्ना बुबाको निधनपछि उनको शव पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरि विहान ७ बजेतिर घर फर्केका छोराहरु महेश र उमेश घरमा फर्केर काजकिरीयाको तयारीमा जुट्दै थिए ।

दमको औषधि खाँदै आएकी विरामी आमाको स्वास्थ्यको ख्याल गर्दै उहाँलाई अलि न्यानोमा राखेर कोरामा बस्न पुरोहितले महेश र उमेशलाई सुझाउँदै थिए ।

यत्तिकैमा १० घण्टा अघि श्रीमान गुमाएकी ७१ वर्षिया भगवतीदेवी शर्मालाई सास फेर्न गाह्रो हुँदै आयो । स्वर्गीय बुबाको काजकिरियाको तयारी गरिरहेका छोराहरुको साथै नजिकै रहेका बुहारी कान्ता, छोरी प्रतिमा र पुरोहित लगायत सबै अलमलमा परे । बुहारी कान्ता र छोरी प्रतिमाले आमालाई तातो पानी खुवाए, आमाले मुस्किलले २÷४ घुट्को पानी निल्न सकिन ।

त्यसपछि आंगनमा रहेको तुलसीको मोठ अगाडि सुताएलगत्तै भगवतीदेवीले प्राण त्यागीन । श्रीमानले आफुलाई छोडेर गएको करीव १० घण्टाको अन्तरालमा विहान १० बजेतिर श्रीमतीले प्राण त्यागीन । मानौं सत्ययुगमा पतिव्रता पत्निले पतिको मृत्युसंगै ‘सती गएको’ कथा झैं भगवतीको निधन भयो ।

‘बुबाको निधनपछि आमालाई अस्पतालमा लगेर बुबाको अनुहार देखाएदेखि नै आमा बरबराउन र टोलाउन थाल्नुभएको थियो, उहाँलाई निकै गहिरो चोट परेछ’—छोरा महेशले भने—‘बुबाको वियोग सहन सक्नुभएन र आमाले पनि हामीलाई छोडेर जानुभयो । ’

रामगोविन्द शर्मासंग विवाह भएर दार्जिलिंगबाट काठमाडौं झरेकी भगवतीदेवीले २ छोरा महेश र उमेश तथा २ छोरी प्रतिमा र पुष्पाको साथ आफ्ना पतिसंग ५ दशक संगसंगै बिताइन । त्यति लामो जीवन संगै विताएकी भगवतीले आफ्ना पतिको वियोग र एक्लोपन सहन सकिनन र देहत्याग गरीन ।

विहान २ बजे बुबाको शव जलाएर फर्केका छोराहरु ११ बजे आमाको शव लिएर फेरी पशुपति आर्यघाट पुगे । र, आमाको पनि दाहसंस्कार गरि भारी मन लिएर घर फर्किए । एकैदिन एकाघरका श्रीमान श्रीमतीको मृत्युमा दाहसंस्कारको लागि दुईचोटी मलामी जानुपर्यो ।

मंगलबार एकैदिन १० घण्टाको अन्तरालमा बुबाआमाको अकल्पिनीय तरीकामा मृत्यु भएपछि शर्मा परिवार एकाएक टुहुरो हुन पुग्यो । छोरा महेश र उमेश यतिखेर बुबा र आमा दुवैको एकैचोटी कोरा बार्दैछन भने छोरी बुहारी आमा सम्झेर दुःखी छन ।