बलराम प्यासी
ललितपुर । आफुलाई लागेको क्यान्सररोग लुकाउने, क्यान्सर लागेपछि डराउने र आत्तिने प्रायः महिला नै हुन्छन । तर सुन्दा अचम्म लाग्छ, क्यान्सर निको भएपछि यसबारे सन्देश दिन पनि पहिलोपल्ट महिला नै अघि सरेका छन ।
नेपालमै पहिलोपल्ट यही पुस २७ गते शुक्रबार ललितपुरको हेरिटेज गार्डेन सानेपामा आयोजना हुन लागेको जनचेतनामूलक ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’मा हिँड्ने महिलाको संख्या पनि पुरुषको तुलनामा ५ गुना बढी छ ।
प्रतिश्पर्धात्मक नभई जनचेतनामूलक उक्त र्याम्प शोमा विभिन्न समयमा क्यान्सर लागेर उपचारपछि निको भएका र उपचारका क्रममा रहेका एक वालिका, चार पुरुष र १९ महिला गरि २४ जनाको सहभागिता रहनेछ । त्यतिमात्रै नभई र्याम्प शोको कोरियोग्राफि नेपालकै पहिलो मोडल तथा क्यान्सर जितेकी एक सफल र साहसी व्यवसायी महिला डली गुरुंगले गर्दैछिन ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिको सहयोग तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक आयोजना हुन लागेको ‘सुदिप्त क्यान्सर सर्भाइभर रयाम्प सो’ को तयारी पूरा भईसकेको छ ।
ललितपुरमा मंगलबार पत्रकार सम्मेलनमा कार्यक्रमकी संयोजक तथा परिकल्पनाकार स्वरुपा श्रेष्ठले र्याम्प शोको सम्पूर्ण तयारीबारे जानकारी दिनुभएको हो ।
‘क्यान्सर जीवनको अन्त्य होइन, यसपछि पनि जीवन बाँकी छ’ भन्ने सन्देश दिन ‘र्याम्प शो’ आयोजना गर्न लागेको कार्यक्रम संयाजक श्रेष्ठले भन्नुभयो ।
वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा हुन लागेको सो कार्यक्रम मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले सञ्चालन गर्दैछिन । र्याम्पमा नेपालस्थित विभिन्न राजदूतावासका राजदूतहरु, वरिष्ठ कलाकारहरु समेत सहभागि हुनेछन ।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले क्यान्सरबारे जनचेतना जगाउन र समयमै उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सन्देश फैलाउन र्याम्प शो ले मद्धत पुरयाउने बताउनुभयो ।
उहाँले सबै किसीमको क्यान्सरको निदान र उपचार अहिले नेपालमै संभव भएकोले कसैले पनि उपचारको लाग विदेश जान नपर्ने बताउनुभयो ।







































