काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ यङसिलमा रहेको कालिदेवी आधारभूत विद्यालयका बालबालिकालाई झोला, कापी कलम , इरेजर लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
विद्यालयका ४५ विद्यार्थीलाई हुम्लाका थिन्ले दोर्जे लामाको आर्थिक सहयोगमा ओम नेपालले उक्त झोला वितरण गरेको हो ।
झोला वितरण कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जीतराम लामाले मुलुक समृद्धिको गन्तब्यमा पुग्न
सरकार र सामाजिक संघसंस्थाहरु बीच विकास निर्माण, सचेतना लगायतका बिषयमा प्राप्त ज्ञान साटासाटले मात्र संभव भएको बताए । “एकले सिकेको सिप अर्कोलाई हस्तान्तरण गर्दै भयो भने मात्रै दिगो हुन्छ, उनले भने “सामाजिक रुपान्तरण एकै क्षेत्रले गरेर मात्रै हुदैँन, सबैको हात्तेमालो हुनुपर्छ ।”
कार्यक्रममा बोल्दै सामाजिक अभियान्त मिना श्रेष्ठले सामाजिक संघसंस्थाहरुको सहयोग दुर्गम र विपन्न क्षेत्रका कुना काप्चा सम्म पुग्न सकेको जनाउँदै आगामी दिनमा अझ यसको दायरा अझ फराकिलो पार्नु पर्ने बताइन् ।
ग्रामिण क्षेत्रको सामुदायिक विद्यालयमा झोलासँगै कापी, कलम, इरेजर लगायतका शैक्षिक सामग्री पनि वितरण गर्न पाउँदा आफूलाई आत्म सन्तुष्टी प्राप्त भएको संस्थाका अध्यक्ष खुसराज लामाले बताए ।
उनले आगामी दिनमा पनि अझ सहयोगको हात बढाउने समेत प्रतिवद्दता गरेका थिए ।
नयाँ झोला तथा शैक्षिक सामग्री पाएपछि बालबालिकाहरुमा खुसी बढेको तथा पठन पाठनमा हौसला बढेको विद्यालयका प्रधानाध्यापक सार्कीमान तामाङले बताए ।