दाङ: दाङमा अबैध हतियार बनाउने कारखाना भेटिएको छ ।
जिल्लाको राजपुर गाउँपालिका-७ भौवानाकास्थित कारखानामा छापा मारेर हतियारसहित हतियार बनाउने ५९ वर्षीय जितबहादुर बुढालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको हो ।
उनको कारखानाबाट ५ भरुवा बन्दुक, एक बाह्रबोर राइफल, तीन एयरगन, एक कटुवा पेस्तोल, एक रिभल्बर, २९ वटा ठूलो हतियारको नाल र १२ वटा सानो हतियारको नाल बरामद भएको जिल्ला प्रहरी दाङले जनाएको छ । साथै उनको साथबाट हतियार बनाउन प्रयोग हुने एक आरन मेसिन, तीन रेती, एक हेक्साब्लेड, दुई हथौडा, एक पेचकस, दुई सनासो, दुई छिना, एक पित्तल काट्ने कैँची, एक बर्मा, एक स्ट्रिङ, १२ ग्रुप काट्ने टप, १० सटगनको हतियार बनाउने खोका, १ सय ५७ वटा स्क्रु र १ सय ७ बोल्ट बरामद भएको छ।
बुढालाई मूलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरेर कारवाही अघि बढाइएको छ ।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी बरामद हतियार र पक्राउ गरेका व्यक्तिलाई सार्वजनिक गरेको हो।