निर्मला हत्या प्रकरण, अभियुक्तका जति स्केच बन्यो सबै फेल

299

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तको खोजीका क्रममा प्रहरीले बनाएका शंकास्पद व्यक्तिका सबै स्केच फेल भएको छ । गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । त्यसयता प्रहरीले बलात्कार तथा हत्याको आशंकामा अनुसन्धानका लागि लिएका स्केच नमिलेको प्रहरीले जनाएको छ ।

‘कुनै व्यक्तिमाथि कसैले शंका गर्दा प्रहरीले त्यसमा सूक्ष्म निगरानी राखी स्केच बनाएरै अनुसन्धान गर्दै आएको छ तर हालसम्म कसैको पनि स्केच म्याच भएको छैन,’ प्रहरी स्रोतले राजधानीसँग भन्यो ।
स्रोतका अनुसार हालसम्मको अनुसन्धानका क्रममा प्रहरीले करिब एक दर्जन व्यक्तिको स्केच बनाइसकेको छ भने हत्याको आशंकामा १ हजार भन्दा बढीलाई सोधपुछ गरिसकेको छ ।
बलात्कार तथा हत्याबारे अनुसन्धान गर्न कञ्चनपुर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीसहित स्थानीय प्रहरी टोली र स्केच बनाउन खटिएको विशेष टोलीले संयुक्त रूपमा हत्या प्रकरणको अनुसन्धान जारी राखेको छ ।

 

२६ जनाको डीएनए जाँच
१ हजार बढीसँग सोधपुछ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले भने निर्मला हत्या प्रकरणमा प्रहरीले गम्भीरतासाथ अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै परिणाम प्राप्त भइनसकेको बताए ।
‘अनुसन्धानको सबै पाटोलाई प्रहरीले केलाइरहेको छ, स्केच बनाएरै अनुसन्धान भइरहेको छ तर नयाँ परिणाम आएको छैन,’ प्रहरी प्रवक्ता सुवेदीले राजधानीसँग भने । कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले शंकास्पद मानिसको हुलियाका आधारमा प्रहरीले स्केच बनाएर अनुसन्धान गर्दै आएको जनाए ।

‘शंकास्पद व्यक्तिको हुलियालाई आधार मानेर प्रहरीले स्केच बनाउँदै आएको छ, कसैको जीउको हुलिया आउँछ, कसैको टाउकोको मात्रै आउँछ,’ कञ्चनपुरका प्रहरी प्रमुख कडायतले भने, ‘तर त्यो भेरिफाइड स्केच होइन ।’
प्रहरीले निर्मलाको हत्या अनुसन्धानका लागि भन्दै हालसम्म २६ जनाको डीएनए परीक्षणसमेत गरिसकेको छ । तर, निर्मलाको भेजाइनल स्वाबसँग भने कसैको पनि डीएनए म्याच भएको छैन ।

प्रहरीले हाल भने निर्मलाको बलात्कारपछि हत्या गरिएको स्थान नजिकका मानिससँग त्यस बखतको अवस्था र शंकास्पद व्यक्तिबारे सोधपुछ गर्दै आएको छ । सोही आधारमा प्रहरीले स्केच बनाउँदै आएको हो ।
अनुसन्धानको सुरुवाती चरणमै प्रहरीले लापरबाही गरेपछि प्रहरीलाई अनुसन्धानमा समस्या हुँदै आएको छ । प्रहरीले दोषी भनेर अनुसन्धानमा लिइएका व्यक्तिको डीएनए नमिलेपछि छुट्दै आएका छन् ।
यसबीच निर्मलाकी आमा दुर्गादेवी पन्तले छोरीको भेजाइनल स्वाबमा नै शंका व्यक्त गर्दै आफ्नो डीएनएसँग त्यसको पुष्टिका लागि गत २५ पुसमा महाकाली अञ्चल अस्पताल पुगेर डीएनए परीक्षणका लागि रगतको नमुना दिएकी थिइन् । उनको भने छोरीको डीएनएसँग म्याच भएको प्रहरीले बताउँदै आएको छ ।