यज्ञराज उपाध्याय / टीकापुर
सुदुरपश्चिमाञ्चल विश्वबिद्यालय टीकापुर बहुमुखी क्याम्पसको १७ औं बार्षिकोत्सव एवं अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशर बहादुर कुंवरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता एवं प्रदेश सांसद रण बहादुर रावल रहेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सांसद रावलले शिक्षा जस्तो कुरामा सबै मिलेर अगाडी बढ्नुपर्ने बताएका हुन । उनले टीकापुर बहुमुखी क्याम्पस प्रदेश ५, ६ र ७ कै धरोहर भएको बताउदै आन्तरिक कुराहरुमा झैझगडा नगरी सुल्झाउन पनि लाग्नुपर्ने र नमुना क्याम्पसको रुपमा देशैभर चिनाउनुपर्ने बताए । यस्तै बिशिस्ट अतिथी रहेका टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्यले आफ्नै वडामा दुई दुईवटा आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस हुदा आफू खुशी भएको बताउदै टीकापुर बहुमुखी क्याम्पसको हितको लागि आफ्नो तर्फबाट हुने सहयोग सबै गर्ने बताए ।
विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरुले समेत शुभकामना मन्तव्य राखेको कार्यक्रममा नेपाल विद्यार्थी संघका क्याम्पस इकाइ कमिटी उपाध्यक्ष एवं स्ववियु उपाध्यक्ष भक्तराज देवकोटाले विद्यार्थीका थुप्रै समस्या रहेको बताए । उनले राजनीतिक कुराहरुलाई समेत जोड दिदै बर्तमान सरकार विरुद्ध नेपाली काङ्ग्रेस सडक देखि सदन सम्म आन्दोलनरत रहेको कुरालाई समेत जोड दिए । टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु थुप्रै मागहरुका सम्बन्धमा उनले बोलेका थिए । त्यस्तै अनेरास्ववियु क्याम्पस इकाइ कमिटी अध्यक्ष पहल सिंह धामीले देवकोटाले सरकार विरुद्ध बोलेका कुराहरुको खण्डन गर्दै केही राजनीतिक कुराहरुलाई जोड दिदै भ्रममा नपर्न विद्यार्थीहरुलाई अपिल गरेका थिए । सरकार बनेको ४, ५ महिनामा नेपाललाई स्विजरल्याण्ड बनाउन नसकिने भन्दै बिस्तारै बिस्तारै सबै कामहरु हुने र विद्यार्थीका समस्याहरु समाधान हुदै जाने बताए । यस्तै अखिल क्रान्तिकारीका पदम काफ्लेले विद्यार्थीको पढाईमा हेलचेक्राई गरे उपकुलपति देखि कुलपति र शिक्षकहरु कुर्ची जलाउदै क्याम्पसबाट बाहिर निकालिने बताए ।
त्यसैगरी स्ववियु अध्यक्ष सुरेश प्रसाद शर्माले केहि विद्यार्थी संगठन स्ववियुको काम के? भन्ने बारे प्रश्न गरेको भन्दै स्ववियुले कुनै भवन बनाउन नसक्ने तर स्ववियुले विद्यार्थीका कुराहरु, समस्याहरु सम्बन्धित ठाउँसम्म पुर्याउन पुलको रुपमा काम गर्ने बताए । टीकापुर बहुमुखी क्याम्पसमा पनि स्ववियुले कार्यक्रमका लागि मञ्च व्यवस्थापन देखि सरस्वती पुजामा पुजापाठका लागि सरस्वती मन्दिर, विद्यार्थीको माग अनुसार फीका कुराहरु, खानेपानीको समस्या समाधान लगायत क्षेत्रमा काम गरेको बताए । उनले आफू स्ववियु जितेर क्याम्पस आउदै गर्दा आफुलाई काम गर्न नदिने बाताबरण केही व्यक्तिले सिर्जना गरेको स्मरण गर्दै आफुले विभिन्न चुनौतीहरुको सामना गर्दै स्ववियुको तर्फबाट काम गरिरहेको भन्दै आफू एक्लो नभएर विद्यार्थीहरुको मत पाएको प्रतिनिधि समेत भएकाले विद्यार्थीका लागि काम गरेको र गरिरहेको उनले बताए ।
प्राध्यापक उमाकान्त भण्डारिले सञ्चालन गरेको कार्यक्रममा स्वागत सिताराम रिमालले गरेका थिए । कार्यक्रममा थुप्रै विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो भने बार्षिकोत्सवको पुर्वसन्ध्यामा गरिने विभिन्न क्रियाकलापहरुबाट प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई सम्मान सहित पुरस्कार दिईएको थियो ।







































