क्रिप्टोकरेन्सी फर्म क्वाड्रिगाका ३० वर्षे सिइओको मृत्युः लगानीकर्ताको १५ अर्ब फस्यो, मुख्य पासवर्ड कसैलाई थाहा छैन

250

क्यानडाको क्रिप्टोकरेन्सी फर्म क्वाड्रिगाका संस्थापक एवं सिइओ गेराल्ड कोटेन (३०) को मृत्यु हुँदा लगानीकर्ताको १८० मिलियन क्यानडियन डलर (१३७.२१ मिलियन डलर) अर्थात्, १५ अर्ब नेपाली रुपैयाँ भ्यालुको क्रिप्टोकरेन्सी फ्रिज भएको छ । यो करेन्सी अनलक गर्ने पासवर्ड कोटेनसँग मात्र थियो । कोटेनको मृत्यु गत डिसेम्बरमा भएको थियो । गत हप्ता क्वाड्रिगाले क्यानडाको अदालतमा क्रेडिट प्रोटेक्सनको मुद्दा दर्ता गर्दै क्रिप्टोकरेन्सी लक भएको जानकारी दिएको थियो ।

मुख्य कम्प्युटरको अनलाइन एक्सेस छैनः

क्वाड्रिगामार्फत बिटकोइन, लाइटकोइन र इथ्रीरियम कोइनजस्ता क्रिप्टोकरेन्सीमा व्यापार गर्न सकिन्छ । यो लक हुँदा १.१५ लाख प्रयोगकर्ता प्रभावित भएका छन् । कम्पनीका ३.६३ लाख रजिस्टर्ड प्रयोगकर्ता छन् । कोटेनकी श्रीमती जेनिफर रोबर्टसनले अदालतमा बुझाएको एफिडेविटमा यसबारे जानकारी दिएकी छिन् ।

जेनिफरका अनुसार कोटेनको मुख्य कम्प्युटरमा क्रिप्टोकरेन्सीको कोल्ड वालेट छ जसलाई पासवर्डमार्फत मात्र एक्सेस गर्न सकिन्छ जुन कोटेनलाई मात्र थाहा थियो । उनको मृत्युसँगै कोल्ड वालेटमा क्रिप्टोकरेन्सी फसेको छ ।

जेनिफरका अनुसार उनी कोटेनको व्यवसायमा संलग्न थिइनन् त्यसकारण आफूलाई पासवर्ड र रिकभरीबारे थाहा छैन । जेनिफरले भनिन्, ‘घरमा सबैतिर खोज्दा पनि पासवर्ड कहिँ कतै लेखिएको देखिएन । यसबारे विज्ञसँग पनि सम्पर्क गरियो तर कोटेनका अर्को कम्प्युटरबाट केही कोइनमात्रै रिकभर गर्न सकियो । विशेषज्ञ पनि मुख्य कम्प्युटरको एक्सेस गर्न सकिरहेका छैनन् ।’

दीर्घ रोगका कारण डिसेम्बरमा कोटेनको मृत्यु भएको थियो । त्यतिबेला उनी भारतको यात्रामा थिए । कोटेन भारतमा अनाथ र बेसहारा बच्चाका लागि काम गरिरहेका थिए ।