आर्थिक अभावमा मौलाउदै सेपाकताक्रो – Purbeli News

290

प्रकाशित मिति: बुधबार, फाल्गुण २२, २०७५ समय: ११:०८:३६

मेघराज तामाङ


सदरमुकाम स्थित सूर्य बोर्डिङको मैदानमा खेल्दै खेलाडीहरु

संखुवासभा / दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकबाट परम्परागत रुपमा सुरु भएको सेपाकताक्रो खेल नेपालमा २०५८ सालमा भित्रयाइएको थियो । पहिले वेत बाँसको चोयाबाट बल बनाएर गोलो घेरामा खुटाले हानेर खेलिने खेलको रुपमा यसको सुरुवात भएको पाइन्छ । समयसंगै अहिले सिन्थेटिक्स प्लास्टिकबाट निर्माण गरिएको बल टाउको र खुटाको सहायताले खेल्ने गरिन्छ । सेपाकताक्रो खेललाई नेपालमा पहिलो पटक २०७३ मा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको थियो । उक्त खेलमा नै संखुवासभाका तीन जना पुरुष खेलाडीले सातौं राष्ट्रिय खेल खेल्ने मौका पाएका थिए ।

हालै सम्पन्न आठौं राष्ट्रिय खेलकुदका लागी प्रदेश स्तरीय छनौटमा संखुवासभाबाट पुरुष समूह विजेता बनेको छ भने महिला समूह उपविजेता बनेको छ । उक्त खेलबाट दुई पुरुष र दुई महिला गरी चार जना आठौं राष्ट्रिय खेलकुदका लागी छनौंटमा परेका छन् । जसमा श्रजेश श्रेष्ठ, गंगा बहादु खत्री, प्रकृति राई र उमा तामाङ रहेका छन् । भने राष्ट्रिय रेफ्रि मेघराज तोलाङ्गी समेत जिल्लाकै प्रतिभा हुन् । अहिले जिल्लामा ५ महिला ५ पुरुष गरी १० जना क्षेत्रीय खेलाडी समेत उत्पादन भइसकेका छन् ।

जिल्लाबाट स्थानीय, क्षेत्रीय र राष्ट्रिय खेलाडी वर्षेनी उत्पादन भइरहेका छन् । तर संस्था भने व्यक्तिगत खर्चले चल्नु पर्ने बाध्यता छ । अहिले खेलाडी उत्पादनका लागी प्रशिक्षणको व्यवस्था गरिएको छ । तर खेल सामाग्री र प्रशिक्षण व्यवस्थापनमा व्यक्तिगत खर्च व्यहोर्नु परिरहेको सेपाकताक्रो संघ संखुवासभाका अध्यक्ष रोषण थापा मगरले बताए ।

खेलाडी उत्पादनमा संघले उपलब्धि पाएपनि व्यक्तिगत खर्चले संस्था कहिलेसम्म चल्ने अन्यौल छ । आर्थिक अभावका कारण खेलाडीलाई दिइने सेवा सुविधाको व्यवस्थापन गर्न नसक्दा प्रशिक्षण कार्यक्रम पनि सदरमुकाम केन्द्रित भएको राष्ट्रिय रेफ्रि मेघराज तोलाङ्गीले बताए । उनले भने, संथागत आर्थिक समस्याले गाउँसम्म प्रशिक्षण कार्यक्रम राख्न सकिएको छैन ।संघ र खेलाडीले जिल्लालाई सेपाकताक्रो खेलमा ठूलै योगदान पु¥याए पनि आर्थिक अभावका कारण यो खेल समस्यामा पर्दै गएको छ ।

Source link